२०८३ साउन २१ गते बिहीबार

अवसरवादी मनाङेः मन्त्री हुने दाउ खोज्दै नेकपा एसमा

अवसरवादी मनाङेः मन्त्री हुने दाउ खोज्दै नेकपा एसमा

विकास मगर

@bikashh1997

२०७९ मंसिर १९ गते सोमबार १०:०१

मनाङे नेकपा एकीकृत समाजवादी प्रवेश गरेसँगै गण्डकीमा उनी फेरि मन्त्री बन्ने चर्चा चलेको छ । तर, नेकपा एसका तर्फबाट महत्वपूर्ण मन्त्रालय दाबी गर्ने दाउमा मन्त्री मनाङे रहेको गण्डकीमा गठबन्धनबीच चर्चा छ । तर, नेकपा एसका नेताहरुले भने अहिले पार्टी प्रवेशमात्रै गराइएको तर, चर्चा चलेकोजस्तो मन्त्री पदकै लागि पार्टी नगरेको दाबी गरेका छन् ।

पाेखरा
गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका मनाङका राजीव गुरुङ ०७४ को निर्वाचनमा उम्मेदवारी दिँदा उनको नाममा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन नै थियो । उनले त्यतिबेला मनाङ प्रदेश सभा २ बाट उम्मेदवारीमात्रै दिएनन्, चुनावै जिते ।

तर, अदालतमा मुद्दा छिनोफानो नभएकाले चुनाव जितेको एक वर्षपछिमात्रै प्रदेश सभामा प्रवेश गरे । त्यसयता मनाङे आफ्नो पूरा कार्यकालभरि चर्चाको मियोमात्रै बनेनन्, गण्डकी प्रदेश सरकार ढाल्ने र नयाँ बनाउने खेलमा अग्रभागमा उभिए ।

एकमात्रै स्वतन्त्र सांसद रहेको र कुनै पनि दलको बहुमत नपुग्ने भएकाले मनाङे नेकपा एमालेका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङदेखि कांग्रेस नेतृत्वका ५ दलीय गठबन्धनको सरकार बनाउन अहम भूमिका खेले । सत्ता परिवर्तन हुँदा पनि उनले पाएको युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी बद्लिएन ।

सुरुमा तत्कालीन नेकपा खटपट हुँदा मनाङेलाई तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेको बहुमत पु¥याउन ०७८ बैशाख १६ गते युवा तथा खेलकुद मन्त्री भएका थिए । तर, विवादित पृष्ठभूमिका मनाङेलाई मन्त्री बनाउँदा गुरुङले मनाङे सुध्रिन चाहेकाले आफूले सहयोग गरेको प्रष्टोक्ति दिएका थिए ।

तर, पछि मुख्यमन्त्री गुरुङले राजिनामा दिएर ठूलो दलका रुपमा फेरि मुख्यमन्त्री नियुक्त हुँदा पनि मनाङेको साथ छोडेनन् ।

तर, उनै मनाङेले एमालेको साथ छोड्दै कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनमा लागेपछि गुरुङ नेतृत्वको सरकार ढल्न पुग्यो । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा नयाँ सरकार बन्यो । एकैदिन ४ मन्त्री नियुक्त गर्दा त्यसमा मनाङे पनि अटाए, तर बिना विभागीय ।

विना विभागीय रुपमा तेस्रो पटक मन्त्रिमण्डलमा प्रवेश गरेका मनाङेले आफूले अर्थ वा भौतिकमध्ये एउटा मन्त्रालय चाहिने अड्डी कसे । आफूलाई ती दुई मन्त्रालयमध्ये एउटा दिने सहमति भएकैले गठबन्धनलाई साथ दिएको उनको भनाइ थियो ।

तर, पछि भौतिक मन्त्रालय कांग्रेस र अर्थ नेकपा माओवादी केन्द्रको पोल्टामा परेपछि फेरि पुरानै युवा तथा खेलकुद मन्त्रालय सम्हाले । तर, मन्त्री हुँदासमेत आफ्नो विगतको विवादित छविलाई सपार्न लागेनन्, उनको मति सुध्रिएन ।

बहालवाला मन्त्री रहेकै बखत कहिले एन्फाका अध्यक्षलाई झापड हानेर हिरासत पुगे त कहिले आफ्नै कर्मचारीलाई झापड हाने । आफू मन्त्री रहेकैबेला विधानविपरीत स्वकीय सचिवलाई कार्यवाहक मन्त्रीको जिम्मेवारी दिएर आलोचित बने ।

बीचमा ५ दलीय गठबन्धन नेतृत्वको आफू सम्मेलित प्रदेश सरकारकै विरुद्धमा अभिव्यक्ति दिँदै पनि आएका थिए । तर, उनकै बलमा सरकार टिकेकाले गठबन्धन उनको अगाडि निरिह हुन पुग्यो ।

मंसिर ४ गते सकिएको निर्वाचनमा मनाङेले फेरि स्वतन्त्र उम्मेदवारी दिए । उनको विरुद्धमा नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनले पनि उम्मेदवार खडा गर्न सकेन भने नेकपा एमालेले दिएको उम्मेदवारी पनि फिर्ता लिएपछि निर्विरोध हुँदै दोस्रो पटक प्रदेश सभामा प्रवेश गरे ।

०७४ पटक स्वतन्त्र उम्मेदवारी दिँदा पनि उनलाई नेकपा एमालेले सघाएको थियो । तत्कालीन चुनावमा उनले कांग्रेसका कर्म गुरुङलाई ३ सय ९० मतान्तरले पराजित गरेका थिए । ०७६ असार १९ गते मनाङेलाई तत्कालीन नेकपा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङकै हातबाट टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

उनले नेकपा प्रवेश गरेसँगै प्रदेश सभामा नेकपाको २ तिहाइ पुगेको थियो ।

तर, पछि सर्वोच्चले नेकपा विघटनसँगै पूर्व एमाले र माओवादी ब्युँताइदिएपछि आफू कुनै पनि पार्टीमा नरहेको र स्वतन्त्र नै रहेको मनाङेले बताए । आफू नेकपामा प्रवेश गरेको तर एमाले नभएको भन्दै मनाङेले लेबीसमेत फिर्ता मागेका थिए ।

हालैको निर्वाचनबेला पनि मनाङेले गोखरा २ बाट उम्मेदवारी दिएका नेकपा एमालेका अब्दुस मियाँलाई सवारी साधन सहयोग गरेका थिए भने तनहुँबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलको चुनावी प्रचारप्रसार अभियानमा पनि पुगेका थिए ।

गुण्डागर्दी पृष्ठभूमि हुँदै संसदीय राजनीतिमा दुई पटक ‘स्वतन्त्र’ उम्मेदवारी दिएर पनि माननीय बनेका उनै राजीव गुरुङ उर्फ दीपक मनाङे सोमबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठलगायतले मनाङेलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश पछि उनले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश बताएका छन् ।

‘त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु,’ मनाङेको विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेश सभा सदस्यका लागि २ ठाउँमा उम्मेदवारी दिए पनि पराजित हुँदा गण्डकीमा नेकपा एकीकृत समाजवादी निल भएको थियो । अब मनाङेको पार्टी प्रवेशसँगै गण्डकीमा नेकपा एकीकृत समाजवादीको एक सिट हुने भएको छ ।

फेरि मन्त्री बन्ने चर्चा !

मनाङे नेकपा एकीकृत समाजवादी प्रवेश गरेसँगै गण्डकीमा उनी फेरि मन्त्री बन्ने चर्चा चलेको छ । तर, नेकपा एसका तर्फबाट महत्वपूर्ण मन्त्रालय दाबी गर्ने दाउमा मन्त्री मनाङे रहेको गण्डकीमा गठबन्धनबीच चर्चा छ ।

तर, नेकपा एसका नेताहरुले भने अहिले पार्टी प्रवेशमात्रै गराइएको तर, चर्चा चलेकोजस्तो मन्त्री पदकै लागि पार्टी नगरेको दाबी गरेका छन् ।

‘एकीकृत समाजवादीमा लाग्छु भन्नुभएपछि स्वागत ग¥यौं । उहाँ स्वतन्त्र सांसद हो । जुन पार्टीमा पनि लाग्छु भन्न पाउनुभयो । गण्डकीमा हाम्रा सांसद छैनन्,’ नेकपा एसका केन्द्रीय महासचिव वेदुराम भुषालले भने, ‘मन्त्री बनाउने निर्णय भइसकेको होइन । अनुमानहरू आएका छन् । अनुमान गर्न पाइयो ।’

नेकपा एसका केन्द्रीय सदस्य किसान श्रेष्ठले पनि अहिले मन्त्री पदकै लागि सहमति नभएको तर, ‘आवश्यकताअनुसार हुनसक्ने’ बताए । ‘सरकार बनाउँदै जाँदा जे पनि हुन सक्छ । अहिले मन्त्री नै भन्ने कुरै भएको छैन,’ श्रेष्ठले भने, ‘आवश्यकता अनुसार हुँदै जान्छ ।’

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका श्रेष्ठले मनाङेसँग पहिले पनि पार्टी प्रवेश गर्ने कुरा भएको तर, अहिले अवसर मिलेको जिकिर गरे । ‘पहिले पनि कुरा भएको थियो । साथीभाइ माया गरेर आएको हो, स्वार्थले आएको होइन,’ उनले भने ।

 

प्रकाशित मिति २०७९ मंसिर १९ गते सोमबार १०:०१
हजुरको प्रतिक्रिया