पोखरा
गत २०७७ वैशाख १४ गते किरियापुत्री भवनको चाबी माग्दा मोहन सुनारलाई भेदभाव भएको भन्दै वैशाख १८ गते दिएको जाहेरी पछि परेको मुद्धाको सुनवाई भएको छ ।
पोखरा १६ बाटुलेचौरमा रहेको सार्वजनिक किरियापुत्री भवनमा बस्न नदिई जातीय विभेद गरेको आरोपमा बारे जाहेरी दिएपछि तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो ।
तर पक्राउ गरेर अदालतमा थुनछेकको बहस हुँदा जनही १ लाख ७० हजार रुपैयाँ धरौटीमा उनीहरु रिहा भएका थिए । त्यसयता जिल्ला अदालत कास्कीले सोेमबार फैसला सुनाउँदै ३ जनालाई कैद र जरिवाना तोकेको छ ।
किरियापुत्रीमाथि विभेद गर्ने तीन जनालाई जनही एक वर्ष कैद, ५० हजार जरिवाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले सोमवार पीडक देवबहादुर थापा, रामबहादुर जिसी र जनक क्षेत्रीलाई कारबाहीको फैसला सुनाएका हुन् ।
न्यायाधीश भट्टराईले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ को दफा ७ को १ (क) अनुसार फैसला गरेका हुन् । ऐनको दफामा जातीय विभेद र अन्य भेदभाव गरेमा अभियुक्तलाई तीन महिनादेखि ३ वर्षसम्म कैद सजाय, ५० हजारदेखि २ लाख जरिबवना, पीडितलाई २ लाख रुपैयाँसम्म क्षतिपूर्तिको व्यवस्था गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला सहायक न्यायाधीवक्ता महेश अर्याल र पीडितकोतर्फबाट शिव सुनारले बहस गरेका थिए ।
प्रकाशित मिति २०७९ मंसिर २० गते मंगलबार ०९:३२




