आवसीय चिकित्सकहरुलाई 'ओभरलोड' हुने गरि काम लगाएको आरोप
पोखरा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एक आवसीय चिकित्सकको मृत्यु भएको छ । प्रतिष्ठानमा एमएस पहिलो वर्ष अध्ययनरत डा.किरण श्रेष्ठको बुधबार बिहान हृदयघातले कारण मत्यु भएको अस्पतालका निर्देशक डा.भरत खत्रीले जानकारी दिए ।
डा. श्रेष्ठ केही दिन देखि बिरामी थिए । बिरामी हुँदा पनि ड्युटि गरेका डा. श्रेष्ठले बिरामी जाँच गरेर फर्किएपछि कोठामा मृत फेला परेका थिए । स्थायी घर पाँचथर भएका किरण बिरामी भएपनि अस्पतालको प्रशासनमा जानकारी नगराएको निर्देशक डा. खत्रीले बताए ।
उनका अनुसार २५ वर्षीय डा. श्रेष्ठ गत जेठ महिनादेखि प्रतिष्ठानमा जनरल सर्जन विषय अध्ययरत थिए । बुधबार बिहान ७ बजे उनी ड्यूटीका लागि अस्पतालमा आएका थिए तर असजिलो महसुस भएर निवासमा फर्किएका थिए ।
डा. श्रेष्ठको मृत्युको खबरसँगै सामाजिक सञ्जालमा भने केहीले आक्रोश पोखेका छन् । सामाजिक सञ्जालमा आवसीय चिकित्सकहरुलाई ‘ओभरलोड’ हुने गरेर काम गर्न लगाउने गरेको आरोप छ । आवासीय चिकित्सक भएकै कारण छुट्टि नदिने, ७२ घण्टाको ड्युटि खटाउने गरेका कारण अधिकांश आवसीय चिकित्सक तनावमा हुने उनीहरु बताउँछन् । एकजनाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आवसीय चिकित्सक पनि मानव होइनन् र ?’
यसबारेमा डा.खत्रीले पहिले एक्लैले गर्ने काम अहिले दुई चिकित्सकले बाँडफाट हुने गरि काम विभाजन भएको बताए । बाहिर भनिएजस्तो गाह्रो अहिले आवासीय चिकित्सकलाई नभएको दाबी उनले गरेका छन् ।
प्रकाशित मिति २०७९ मंसिर २२ गते बिहीबार १२:४०




