२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश सभाः जनमोर्चा बाहिरिँदा राप्रपाको ‘इन्ट्री’

गण्डकी प्रदेश सभाः जनमोर्चा बाहिरिँदा राप्रपाको ‘इन्ट्री’

विकास राेकामगर

@Public 4K Tv

२०७९ मंसिर २२ गते बिहीबार ०३:३७

निर्वाचनको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेस ठूलो दल बनेको छ । प्रत्यक्ष तथा समानुपातिक गरी कांग्रेसको कुल २७ सांसद हुने भएका छन् । योसँगै नेपाली कांग्रेसले अघिल्लो पटकको एमालेको सिटसँग बराबरी संख्या बनाएको छ ।

अब कस्तो बन्ला गण्डकीको सरकार ?

पोखरा
६० सिट संख्या रहेको गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चा बाहिरिँदा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेको छ । बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फ सिट बाँडफाँड गरेसँगै राप्रपाबाट गण्डकी प्रदेशमा २ जना सांसद पक्का भएका हुन् ।

अघिल्लो पटक गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाले ३ सिट पाएको थियो । जसमा बागलुङ १ ‘१’ बाट कृष्ण थापा र २ ‘२’ बाट टेकबहादुर घर्ती प्रत्यक्ष निर्वाचित भएका थिए भने पियारी थापा समानुपाति सांसद बनेकी थिइन् ।

तर, पछि घर्तीको मृत्यु भएपछि रिक्त पदका लागि भएको उपनिर्वाचनमा खिमबहादुर शाही निर्वाचित भएका थिए । अघिल्लो पटक समानुपातिकसहित ३ सिट पाएको जनमोर्चा यसपटक भने निल भएको छ ।

जनमोर्चाले प्रदेश सभामा समानुपातिकतर्फ यसपटक पनि पियारी थापालाई पहिलो नम्बरमा राखेको थियो । तर, जनमोर्चाले थ्रेस होल्ड कटाए पनि अन्य पार्टीको मतभार बढी भएकाले समानुपातिक सांसद नपाएको हो । समानुपातिकतर्फ जनमोर्चा सातौं नम्बरमा छ । जनमोर्चाले कुल १४ हजार ९४० समानुपातिक मत पाएको छ ।

समानुपातिकतर्फ जनमोर्चाभन्दा हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले बढी मत पाएको छ । पाँचौं नम्बरमा रहेको लौरो अभियानले पनि जनमोर्चाझैं थ्रेसहोल्ड कटाए पनि सांसद पाउन सकेन । लौरो अभियानले १८ हजार ७३७ समानुपातिक मत पाएको छ ।

समानुपातिकतर्फ चौंथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्रले भने प्रत्यक्षतर्फ जित निकाल्न नसकेपनि समानुपातिकबाट २ सांसद पाउने भएको छ । राप्रपाले कूल ५९ हजार ४८३ समानुपातिक मत पाएको छ । छैटौं नम्बरमा रहेको नेकपा एसले १५ हजार ०७६ मत पाएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ सांसद प्रत्यक्ष र २४ सांसद समानुपातिक निर्वाचन प्राणालीमार्फत चुनिन्छन् । जसमा मतभारका आधारमा सबैभन्दा बढी समानुपातिक सांसद नेकपा एमालेले १०, नेपाली कांग्रसले ९ र नेकपा माओवादीले ३ समानुपातिक सांसद पाउने भएको छ ।

मंसिर ४ गते सकिएको निर्वाचनबाट कुनै पनि दलले एकल बहुमत ल्याउन सकेनन् । तर, निर्वाचनको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेस ठूलो दल बनेको छ । प्रत्यक्ष तथा समानुपातिक गरी कांग्रेसको कुल २७ सांसद हुने भएका छन् । योसँगै नेपाली कांग्रेसले अघिल्लो पटकको एमालेको सिटसँग बराबरी संख्या बनाएको छ ।

अघिल्लो पटक नेपाली कांग्रेसको ६ प्रत्यक्ष र ९ समानुपातिक गरी जम्मा १५ गण्डकी प्रदेश सभा सदस्य थिए । तर, यसपटक ५ दलीय गठबन्धनको सहारामा नतिजा उल्ट्याएको हो ।

त्यस्तै, अघिल्लो पटक पहिलो दल बनेको नेकपा एमाले यसपटक दोस्रोमा झरेको छ । नेकपा एमालेले प्रत्यक्ष र समानुपातिक गरी २२ जना सांसद पाउने भएको छ । अघिल्लो पटक नेकपा एमालेको प्रत्यक्ष १७ र समानुपातिक १० गरी २७ जना सांसद थिए ।

अघिल्लो पटक १२ सांसदसहित तेस्रो दल बनेको नेकपा माओवादी केन्द्र ८ (नेसपा १) सिटमा खुम्चिएको छ । जसमा प्रत्यक्षतर्फ ५ र समानुपातिकबाट ३ जना सांसद आउनेछन् । अघिल्लो पटक नेकपा माओवादी नेकपा माओवादी ९ जना प्रत्यक्ष निर्वाचित सांसद थिए ।

समानुपातिकतर्फ बराबरी भए पनि प्रत्यक्षमा नेकपा माओवादीले ४ सिट गुमाएको छ ।

मनाङ प्रदेश सभा ‘२’बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका राजीव गुरुङ ‘दीपक मनाङे’ सोमबारमात्रै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । कानुनी प्रक्रिया पूरा भएसँगै मनाङे गण्डकीमा नेकपा एसको उनीमात्रै एक्लो सांसद बन्ने छन् ।

अघिल्लो पटक पनि गण्डकीमा नेकपा एस शून्य थियो । यसपटक २ ठाउँमा उम्मेदवारी दिए पनि पराजित भएका थिए ।

कस्तो बन्ला प्रदेश सरकार ? यस्ता छन् सम्भावनाः

६० सिट संख्या रहेको गण्डकी प्रदेशमा सरकार गठनका लागि बहुमत पु¥याउन ३१ जना सांसद चाहिन्छ । तर, कुनै पनि दलको बहुमत नपुग्ने भएकाले तालमेलकै आधारमा सरकार बन्ने निश्चित छ । त्यसका लागि केन्द्रीय नेतृत्वको निर्णय निर्णायक हुन सक्छ ।

गण्डकीमा हाल नेपाली कांग्रेसको नेतृत्वमा सत्तारुढ गठबन्धनको सरकार छ । सरकारले निरन्तरता पाए गठबन्धनले आरामदायी बहुमत पाउने देखिन्छ । कांग्रेसका २७ र माओवादीका ८ र नेकपा एस (स्वतन्त्र) एक जना सांसद जोड्दा ३६ सांसद हुन्छन् ।

गोरखा २ (१)मा माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा निर्वाचित भएका छन् । फरक चुनाव चिन्हबाट निर्वाचित सांसदलाई कुद दलको ह्वीप लाग्छ भन्नेबारे कानुनी स्पष्टता छैन ।

तर, निर्वाचन आयोगलाई आधार मान्दा देवकोटा नेसपाकै सांसद हुन् । अघिल्लाेपटक गण्डकीमा नेसपाले समानुपातिकसहित २ सांसद पाएकाे थियाे ।

गठबन्धनकै सरकार बनेमा नेकपा एमाले र राप्रपा प्रतिपक्षको भूमिका निभाउनेछन् । तर, नेकपा एमाले र नेकपा माओवादीले संयुक्त सरकार बनाउन बहुमत पुग्दैन । त्यसका लागि राप्रपा निर्णायक बन्ने देखिन्छ । एमालेको २२ माओवादी केन्द्रको ८ गरी जम्मा ३० सांसद हुन्छन् । त्यसका लागि २ सिट भएको राप्रपालाई पनि सरकारमा सामेल गर्नुपर्ने देखिन्छ ।

एमाले र माओवादीको सरकार बन्ने अवस्थामा बहुमत नपुगे पनि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ ‘दीपक मनाङे’ निर्णायक हुने देखिन्छ ।

 

प्रकाशित मिति २०७९ मंसिर २२ गते बिहीबार ०३:३७
हजुरको प्रतिक्रिया