भ्रष्टाचार हुनै नदिने प्रधानमन्त्रीको प्रतिवद्धता व्यक्त
पोखरा
आज भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवस । विविध कार्यक्रम गरी आज यो दिवस नेपालमा पनि मनाइँदै छ । हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई बुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाइने गरिन्छ । सन् २००३ मा संयुक्त राष्ट्र संघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रूपमा मान्यता दिएको हो । आजको दिन संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धि गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गर्ने गरिएको छ ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक उपायलाई सँगसँगै कार्यान्वयनमा उतार्नु पर्ने बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कानुनको पालना, सार्वजनिक निकायहरुको सुदृढीकरण, जवाफदेही र पारदर्शी कार्यप्रणाली, सार्वजनिक खरिद प्रणालीमा शुद्धता जस्ता विषयले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुर्याउने बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्यायिक निकायहरु लगायतका निकायहरुको संस्थागत सुदृढीकरण, अनुसन्धान पद्धतिमा निरन्तर सुधार तथा न्याय निरुपणमा संवेदनशीलता जस्ता पक्षमा पनि गम्भीरतापूर्वक ध्यान दिन जरुरी रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सबै सरकारी निकाय, बुद्धिजीवी, नागरिक समाज र सञ्चारकर्मीहरुलाई आगामी दिनमा आपसी समन्वय, सहकार्य र साझेदारीमा भ्रष्टाचार नियन्त्रण अभियान अघि बढाउन आह्वान समेत गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले भ्रष्टार रोकथामका लागि सरकारी, निजी र गैरसरकारी क्षेत्रका निकाय एवं पदाधिकारीका साथै सबै नागरिकको निरन्तर सहयोग जरुरत पर्ने बताएका छन् ।
शुभकामना सन्देशमा उनले भ्रष्टाचार बहुआयामिक र जटिल विषय बनेको भन्दैे यसको रोकथामका लागि सबैको सहयोगको अपेक्षा गरेका हुन् ।




