२०८३ असोज २३ गते शुक्रबार

पोखरामा १२ पुसमा नेपथ्यको कन्सर्ट

पोखरामा १२ पुसमा नेपथ्यको कन्सर्ट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २३ गते शुक्रबार ०१:०७

पोखरा । मानव सेवा आश्रमको भवन निर्माण र आपतकलीन अक्षयकोष स्थापनाका लागि पोखरामा आगामी १२ पुसमा सांगितिक समूह नेपथ्यको कन्सर्ट हुने भएको छ । नेपालका १० सहरमा ‘मानवता लागि सांगीतिक यात्रा’ योजनाअनुसार पोखरामा १२ पुसमा कार्यक्रम...

पोखरा । मानव सेवा आश्रमको भवन निर्माण र आपतकलीन अक्षयकोष स्थापनाका लागि पोखरामा आगामी १२ पुसमा सांगितिक समूह नेपथ्यको कन्सर्ट हुने भएको छ ।

नेपालका १० सहरमा ‘मानवता लागि सांगीतिक यात्रा’ योजनाअनुसार पोखरामा १२ पुसमा कार्यक्रम हुन लागेको हो । मानव सेवा आश्रम पोखरा शाखाले विभिन्न समिति, उपसमिति गठन गरेर तीन हप्तापछि हुने कन्सर्टको तयारी सुरु गरिसकेको छ ।

पोखराको कन्सर्ट पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अपरान्ह ४ बजेदेखि राति ८ बजेसम्म हुनेछ । पोखराको प्रदर्शनी केन्द्रमा ६ हजार दर्शक आउने अनुमान गरेर आयोजकले तयारी गरिरहेका छ ।

पोखराबाटै उदाएको नेपथ्यले मानवीय सहयोगको अभियानमा रहेको मानव सेवा आश्रमलाई साथ दिइरहेको छ ।

तीन वटा सहरमा कन्सर्ट भइसकेको छ । गत १६ मंसिरमा विराटनगर, १९ मंसिरमा वीरगञ्ज, २२ मंसिरमा हेटौंडामा कन्सर्ट भइसकेको हो । २५ मंसिरमा चितवनको क्याम्पाचौरमा, २९ मंसिरमा नेपालगञ्ज रंगशालामा, ३ पुसमा धनगढी रंगशालामा, ६ पुसमा सुर्खेतको खुल्लामञ्चमा, ९ पुसमा बुटवलको कालिका मानव ज्ञान मावि (सेक्टर २) मैदानमा कार्यक्रम हुनेछ ।

१२ पुसमा पोखरा र अन्तिम कार्यक्रम अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन १६ पुसमा काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने आश्रमले जनाएको छ ।

एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी, सडकआश्रित मानवहरूको उद्धार गर्दै आइरहेको आश्रमले मानवीय सेवाको अभियानलाई थप प्रभावकारी बनाउन नेपथ्यसँग सहकार्य गरेको जनाएको छ । कुनै भरपर्दो स्थायी स्रोत नभएको आश्रमको वर्तमान अवस्थामा विपत् वा भवितव्यका कारण एक हप्तामात्र पनि सहयोग प्राप्त नहुँदा उत्पन्न हुनसक्ने दुराबस्थालाई मध्यनजर गर्दै भरपर्दो कोष निर्माण गर्न पनि यस कार्यक्रम आयोजना गरिएको अध्यक्ष रामजी अधिकारीले बताए ।

मानवसेवा आश्रमको विराटनगर, सर्लाही, वीरगञ्ज, लमजुङ, बागलुङ, गोरखा, पोखरा, धनगढी, ललितपुर र झापामा भवन निर्माण भइरहेको छ । हेटौंडा, चितवन र बुटवलमा निर्माण सम्पन्नको चरणमा पुगेको छ । आश्रमको शाखा रहेका अन्य सहरहरू सुर्खेत, भक्तपुर, जनकपुर र नेपालगञ्जमा जग्गा व्यवस्थापन एवं भवन निर्माण शुभारम्भको चरणमा छ ।

हाल निर्माणाधीन भवनहरूको निर्माण कार्य सम्पन्न गरी देशभर करिब दुई हजार ५०० लाई संरक्षण गर्न सक्ने क्षमता विकास गर्ने योजना आश्रमको छ ।

प्रकाशित मिति २०७९ मंसिर २३ गते शुक्रबार ०१:०७
हजुरको प्रतिक्रिया