२०८३ साउन २१ गते बिहीबार

‘हनी हन्टिङ’लाई उत्सव बनाउँदै लान्द्रुक, हेर्न जाने कसरी ?

‘हनी हन्टिङ’लाई उत्सव बनाउँदै लान्द्रुक, हेर्न जाने कसरी ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २३ गते शुक्रबार ०७:०९

पोखरा । भीर मौरीको मह जेठ र मंसिर गरेर वर्षमा दुईपटक निकालिन्छ । घर मौरीको मह काढ्ने प्रक्रिया सामान्य भए पनि भीर मौरीको मह काढ्ने काम निकै जोखिमपूर्ण हुन्छ । देशका विभिन्न जिल्लामा गाउँ–समाजका स्थानीय मिलेर मह काढ्ने क्रम सुरु...

पोखरा । भीर मौरीको मह जेठ र मंसिर गरेर वर्षमा दुईपटक निकालिन्छ । घर मौरीको मह काढ्ने प्रक्रिया सामान्य भए पनि भीर मौरीको मह काढ्ने काम निकै जोखिमपूर्ण हुन्छ ।

देशका विभिन्न जिल्लामा गाउँ–समाजका स्थानीय मिलेर मह काढ्ने क्रम सुरु भएको छ । कास्कीको लान्द्रुकमा पनि आगामी २७ र २८ मंसिरमा भीरमौरीको मह निकाल्ने तयारी छ । लान्द्रुकबासीले त्यसलाई ‘हनी हन्टिङ फेस्टिबल २०७९’का रुपमा मनाउँदै छन् ।

दोस्रो सिजन मंसिरमा महोत्सव नै गरेर लान्द्रुकको मोदी खोला किनारको कोटेसाङ भीरका गोलाबाट मह निकालिँदै छ । मह काढ्न ९ देखि ११ जनासम्मको टोली परिचालित हुनेछ । यो काम लान्द्रुककै स्थानीयले गर्छन् ।

पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने भएकाले हनी हन्टिङलाई एउटा उत्सवकै रुपमा मनाउन लागिएको फेस्टिबल आयोजक समिति सचिव कमल गुरुङले बताए । ‘हाम्रो गाउँ अन्नपूर्ण र मर्दी हिमाल बेसक्याम्प जाने रुट पनि हो । तर, पछिल्लो समय पर्यटकको संख्या कम भयो,’ उनले भने, ‘पर्यटन प्रवद्र्धनमा केही हदसम्म मद्दत पुग्छ कि भनेर फेस्टिबलकै रुप दिएका हौँ ।’

कोटेसाङ महभीरमा अहिले २५ वटा जति घार छन् । दुई दिन लगाएर ती घारबाट मह निकालिने छ । उत्पादित महलाई ३ हजार रुपैयाँ प्रतिलिटर पर्ने सचिव गुरुङले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकाले यो फेस्टिबललाई ५० हजार रुपैयाँ बजेट छुट्याएको छ । त्यो बजेट र स्थानीय आफैँले उठाएर मह काढ्ने खर्च जुटाउँछन् । फेस्टिबल सहसंयोजक स्थानीय राम गुरुङले फाइदाभन्दा पनि बा–बाजेको पालादेखि मान्दै आएको परम्परालाई आफूहरुले निरन्तरता दिएको सुनाए । ‘बुवाहरुले गरेको कामलाई अहिलेको युवाले फेस्टिबलको रुपमा मनाउन खोजेका हौँ । मह कति निस्कन्छ यकीन हुँदैन । मह ननिस्किए खर्च उठाउन पनि पुग्दैन,’ उनले भने, ‘मह बेचेर आएको पैसा गाउँमै बाटो बनाउने, सामाजिक काममा खर्च हुन्छ ।’

कसरी जाने ?

भीर मौरीको मह काढेको हेर्ने रहर हुनेले एक दिनको समय छुट्याउँदा पुग्छ ।

लान्द्रुक पोखराबाट दुई घन्टाको दुरीमा पर्छ । पोखराको हरिचोकबाट बिहान ९ बजेदेखि तीन बजेसम्म लान्द्रुक जाने जिप पाइन्छ । आफ्नै साधन हुनेहरु जिप कुरेर बस्नुपर्दैन ।

लान्द्रुक पुग्न र एक रात खानबस्न दुई हजार रुपैयाँ भए पुग्छ ।

प्रकाशित मिति २०७९ मंसिर २३ गते शुक्रबार ०७:०९
हजुरको प्रतिक्रिया