पोखरा
पोखरा महानगरपालिका–१८ सराङकोट पँधेलीकी धनसरी घर्ती शुक्रबार विहानै मणिपाल अस्पताल पुगिन् । छोरी पूर्णकुमारीको केही दिनेदेखि अस्पतालमा उपचार भइरहेको थियो । भलाम घर भएकी जेठी छोरी पूर्णकुमारीलाई मुटुको समस्या छ । रोगले च्यापेपछि अस्पतालको आइसियू कक्षामा उपचार गराइरहेकी छोरीलाई भेट्न आएकी धनसरीले भेटिन पनि ।
थप उपाचारका लागि शुक्रबारै पूर्णकुमारीलाई काठमाडौं लगिदै थियो । घरमा एक्ली धनसरी काठमाडौं जान पाइएला नपाइएला भनेर दौडेर मणिपाल पुगिन् । मणिपालको तेस्रो तलामा उपचाररत पुर्णकुमारीलाई विहान ११ बजेतिर काठमाडौं लैजान तल झारियो । आफन्त सबै पूर्णकुमारीलाई लिएर झरे ।
छोरीलाई तल झार्नु अगाडिसम्म उनी आइसियू कक्षको बाहिर बेन्चमा बसिरहेकी थिइन् । बिरामीलाई काठमाडौं पु¥याउनुपर्ने भएकाले आफन्त सबै हतारोमा थिए । धनसरी बसिरहेको ठानेर सबै तल झरे ।
पूर्णकुमारीलाई काठमाडौं पठाएपछि आफन्तले धनसरीलाई तल देखेनन् । माथि उक्लिएर खोज्दासमेत कतैं भेटेनन् । केहीबेरको खोजतलासीपछि उनी मणिपाल अस्पतालमा पाइप फिट गर्नलाई खाली राखिएको ठाउँमा देखा परिन् । तेस्रो तलामा रहेकी उनी बोकिरहेको झोलासहित रगताम्य अवस्थामा पहिलो तलामा थिइन् । तीन तला माथीबाट खसेकी उनलाई मणिपालको आकस्मिक कक्षामा लगेर चिकित्सकले चेकजाँच गरे । बिरामी छोरीलाई भेट्न आएकी उनी तेस्रो तलाबाट खसेर आफन्तले देख्नु अगावै अन्तिम श्वास फेरिसकेकी थिइन् । चिकित्सकले उनलाई मृत घोषणा गरे ।

धनसरीले शौचालय ठान्दै खोलेको ढोका
धनसरीले शौचालय ठानेर ढोका खोल्दा पाइप फिट गर्न खाली राखिएको ठाउँबाट खसेको उनका आफन्तको अनुमान छ । उनी खसेको ठाउँको बाहिरबाट हेर्दा कोठाको ढोका जस्तै देखिन्छ । अध्याँरो त्यसमा पनि दुर्घटनाको जोखिम भएको ढोका खोल्न नमिल्ने गरेर बन्द नगर्नु अस्पतालको गम्भिर लापरवाही भएको मृतकको आफन्तको आरोप छ ।
‘सजिलैसँगै खोलेर ट्वाइलेट छिर्ने जस्तो ठाउँ बनाएर मान्छे मार्ने पासो राख्न पाइदैन् । अस्पतालको गम्भिर कमजोरी हो’, एक आफन्तले भने । मृतक खसेको ठाउँ अध्यारो भएकाले पनि अस्पताल आउनेहरु झुक्किने उनको भनाइ छ । ‘अध्याँरो छ । अस्पताल आउने मान्छेहरु केही न केही समस्या भएर आउँछन् । यत्तिकै मान्छेमा मानसिक समस्या भाकै हुन्छ । उस्को दिमागमा केही न केही त भाकै हुन्छ नि । त्यस्तो बेलामा मान्छे हतारमा ट्वाइलेट पिसाब फेर्न जान्छु भन्दाखेरी सिधैं मार्ने पासो बनाएर राख्ने’ ति आफन्तले आक्रोश पोखे ।
अस्पताल प्रशासनका अनुसार पाइप मर्मत गर्नलाई ढोका खोलिएको थियो । उनी किन त्यतातिर गइन भनेर बुझ्न नसकेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालको लापरवाहीका कारण बिरामी भेट्न आएकी धनसरीको अनाहकमा ज्यान गएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । शुक्रबार २ चरणमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भयो । छलफलले निचोड निकाल्न नसकेपछि शनिबार फेरि वार्ता बस्ने जनाइएको छ ।
मृतकको शव मणिपाल अस्पतालको शवगृहमा राखिएको छ । अस्पताल प्रशासनले गम्भिर लापरवाही भएको कारण दुखद घटना भएको भनेर स्विकार गरेको अर्का एक आफन्तले जानकारी दिए । मृतक धनसरी मंगलबार नै लेकसाइड दिदी भिनाजुको घरमा आएकी थिइन् । उनले ८४ पुजामा नाचगान र रमाइलो गरिन् । विहीबार साँझ कान्छी छोरीको घर भकुन्डे गइन् । शुक्रबार विहानै कान्छा ज्वाँईको साथ लागेर अस्पताल पुगेकी उनी नर्फकने गरेर विदा भइन् ।
प्रकाशित मिति २०७९ मंसिर २४ गते शनिबार ०७:३५




