२०८३ कात्तिक ११ गते मंगलबार

कास्कीमा हात्तीपाइले रोग निवारणका लागि टास थ्री सर्वेक्षण सञ्चालन

कास्कीमा हात्तीपाइले रोग निवारणका लागि टास थ्री सर्वेक्षण सञ्चालन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २६ गते सोमबार १०:३५

नेपालमा करिब १ करोड जनसंख्या हात्तीपाइले रोगको जोखिमा छ ।

पोखरा

हात्तीपाइले रोग निवारणका लागि कास्कीमा ट्रान्समिसन एसिसमेन्ट सर्भे (हात्तीपाइले रोगको नयाँ परजीवी छ छैन भनेर पत्ता लगाउने ) सर्वेक्षण टास थ्री सञ्चालन भएको छ । कास्कीका ४ वटा गाउँपालिकामा टास थ्री सञ्चालन भएको किटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका भेक्टर कन्ट्रोल अधिकृत कुमारप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिकामा बुधबारदेखि यो सर्वेक्षण सुरु हुनेछ ।

 

पोखरेलका अनुसार कास्कीमा दुई पटक टास सर्भे सफल भएको र यो पटक पनि सर्भे सफल भएमा कास्कीमा हात्तीपाइले रोग निवारण भएको मानिने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले यो सर्वेक्षण सञ्चालन गरेको हो । कास्कीका पाँच वटै पालिकाका विद्यालय मध्ये ५० विद्यालयमा कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीको समूहबाट १५ सय ५२ नमूना संकलन गरी यो सर्वेक्षण गरिने पोखरेलले जानकारी दिए । कक्षा १ र २ का विद्यार्थीहरुले आम औषधी सेवन नगरेको र अधिकतम ६ र ७ वर्षका भएकोले यो नयाँ संक्रमण जाच्ने उपयुक्त उमेर समूह भएकाले त्यही समूहमा सर्वेक्षण गरिएको पोखरेलले बताए ।

 

केन्द्रले आइतबार कास्कीका सरोकारवाला निकायसँग यो सर्वेक्षण बारेमा जानकारी दिन अभिमुखकीकरण कार्यक्रम गरेको हो । पोखरेलका अनुसार विद्यालयमा नमूना परीक्षण गरी १० मिनेटमै नतिजा दिइने छ । पोखरेलका अनुसार टास थ्रीका लागि लिइएको १५ सय ५२ नमुना मध्ये १८ वटा सम्म केस पोजेटिभ देखिए यसलाई सफल मानिन्छ र रोग निवारण भएको मानिनेछ । १८ भन्दा बढी केस पोजेटिभ देखा परेमा रोग निवारण भएको र जोखिम रहेको मानिनेछ । नमूना संकलनका लागि ३÷३ जनाको टिम बनाएर विद्यालयमा खटाइएको छ । कास्कीमा सर्वेक्षण गर्नका लागि पाँच वटै पालिका, जिल्ला समन्वय समिति र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वय र सहकार्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख वद्री आचार्यले बताए ।

 

नेपालमा करिब १ करोड जनसंख्या यो रोगको जोखिमा रहेको छ । विश्व स्वास्थ्य संगठनले सन २०३० सम्म औषधी सेवन मार्फत संसारभरबाटै हात्ती पाइले रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । हात्ती पाइले क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेर सर्ने सरुवा रोग हो ।

 

 

 

प्रकाशित मिति २०७९ मंसिर २६ गते सोमबार १०:३५
हजुरको प्रतिक्रिया