पोखरा
१८ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी पुस ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवलाई सफल बनाउन तयारी तीव्र पारिएको छ ।
लेखनाथ महोत्सव अन्तर्गतका सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको संघका अध्यक्ष तथा महोत्सवका संयोजक छत्रधर आत्रेयले जानकारी दिए । महोत्सवमा राखिने ३ सय ३८ वटा स्टल मध्ये ८५ प्रतिशत बुकिङ भइसकेको छ । महोत्सवमा पर्यटन प्रवद्र्धन र नयाँ उद्योगको प्रवद्र्धन गर्नका लागि निशुल्क स्टलको व्यवस्था गरिने आयोजकले जनाएको छ । महोत्सवमा रेस्टुरेन्ट, हस्तकला, कृषि, अटो, रेडिमेट, वित्तीय संस्था, पर्यटन प्रवद्र्धन, सूचना प्रविधि र उद्योगका स्टलहरु रहने प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले बताए ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महासचिव उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए । महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सूचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन् । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा रहने छन ।
१० करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको महोत्सवबाट ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भई १० लाख बचत हुने आयोजकको अनुमान छ । बचत रकमबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास र बेगनासताल, रुपाताल लगायतका पर्यटकीय स्थलहरुको प्रवद्र्धनको क्षेत्रमा खर्च गरिने योजना संघको छ ।
महोत्सवको मुख्य प्रायोजकमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक सहप्रायोजकको रुपमा छन् ।
प्रकाशित मिति २०७९ मंसिर २७ गते मंगलबार १०:५५




