स्थानीय भन्छन्ः एउटै बाढीले भत्कायो, यसले काम गर्दैन
पोखरा
विङ वालको जग पानीको बहाबले खोतलेको छ । पुलको भार थाम्ने वाल आफ्नै भार थाम्न नसक्ने भएर कोल्टिएको छ । निर्माणधीन अवस्थामा गएको बर्खाको भेलले पुलको पिल्लरको समेत जग खोतलेर कमजोर बनाइदिएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ टुँडा र म्याग्दे गाउँपालिका–५ साउनेपानी जोड्ने गरी म्याग्दे खोलामा निर्माणधीन बक्स कल्भर्ट डिजाइनको पुल नबन्दै भत्किएको छ । दुई स्थानीय तहको लगानीमा सम्बन्धलाई थप प्रगाढ बनाउने भन्दै निर्माण थालिएको मितेरी पुल आफैंमा कमजोर हुँदैछ ।

म्याग्दी खोलाको निर्माणधीन मितेरी पुल
दुई स्थानीय तहको लागत साझेदारीमा निर्माणधीन मितेरी पुलको कन्तविजोग देख्दा स्थानीयको मन खिन्न हुन्छ । साउनेपानीको विकासका लागि कोशेढुंगा बन्ने निर्माणधिन पुलको डिजाइन फेर्नुपर्ने स्थानीयको सुझाव छ ।
यामबहादुर थापा भन्छन्, ‘यत्रो दुई खोलाको दोभानमा कल्र्भटे पुल बनाएर एउटै बाढीले त्यसरी धकेल्यो । ठुलो बाढी आयो भने त के होला ? जम्मै लगदिन्छ त ।’ यही डिजाइनमा पुल निर्माण पुरा भए सधैं सरकारलाइ गुहार्नुपर्ने उनको निक्र्यौल छ । अर्को बलियो पिल्लर ठडाएर पुल बनाउनुपर्ने उनी बताउँछन् ।
‘कल्र्भटे पुलले धान्दैन । बरु खर्च नगरेपनि हुन्छ’, उनको सुझाव छ । पुलको डिजाइन गर्ने बेला बर्खामा खोलाको बहाब कत्रो हुन्छ भनेर बुझ्न जरुरी रहेको उनले बताए ।
‘यहीँको बासिन्दालाई थाहा हुन्छ यो खोला कत्रो हुन्छ । के के विध्वंश गर्छ र कत्रो पुल चाहिएको छ यहाँ’, उनले भने, ‘उनीहरु आए पुजा गरेर पुल बन्छ भने । त्यस्तो कल्भर्टले हुन्छ । यो पुलले हुदैन् ।’

जोखिममा परेको साउनेपानी बस्ती
मितेरी पुलको गत वर्षको पुसमा तत्कालिन शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ र म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले शिलान्यास गरेका थिए । तामझामकाबीच पुलको शिलन्यास गरियो ।
झोलुङ्गे पुलबाट मोटरसाइकल र स्कुटर वारपार गर्दै आइरहेका साउनेपानीबासीले बिरामी हुँदा दैलोमा एम्बुलेन्स ल्याउन पाइन्छ भनेर पुल शिलन्यासको दिन पञ्चेबाजा घन्काउँदै नाचगान गरे ।
पृथ्वीराजमार्गबाट १ किलोमिटरको दुरीमा रहेको साउनेपानीमा दैलोमै एम्बुलेन्स पु¥याउन बर्खाको बेला म्याग्दे खोलाको भेल तगारो बन्छ । ‘त्यो बेला बेस्सरी खुशी थियौं ।
१५ महिनामा पुल बन्छ भनिएको थियो’, खिममाया आलेले स्मरण गरिन् । उनलाई पुल बनेपछि पुलको संरक्षण गर्नलाई तटबन्धन हुने हुदाँ खोलाको कटानबाट बस्ती जोगिने समेत आश थियो ।
पुल बनाउनलाई खन्ने क्रममा साउनेपानीतर्फ लगाईएको तारजाली पनि निकालियो । नदीको बहाब पनि परिवर्तन गरेर गाउँतर्फ बगाईयो । अहिले नदीले बस्तीतर्फ कटान थालेको छ ।
‘पुल बनेपछि संरक्षण होला । जाली हुन्छ, बाढीपहिरो यता आउदैन । बस्तीलाई ढुक्क हुन्छ सुनिएको थियो । अहिले त बाढीले लथालिंग बनाएको छ’, उनले सुनाइन् । पुल निर्माण गर्दा खोलाको बहाव परिवर्तन भएर गाउँतर्फ सोझिएको मनु थापाको गुनासो छ । ‘हामी एकदम जोखिममा छौं । पुलको पनि समस्या छ । झोलुङे पुलबाट बाइक स्कटुर हिँडाल्दा कति दुर्घटना हुन्छ’, उनले भनिन् ।

म्याग्दी खोलाको निर्माणाधिन मितेरी पुल र जोखिममा रहेको साउनेपानीको बस्ती
पुल शिलन्यासपश्चात म्याग्दे गाउँपालिकाकी तत्कालिन अध्यक्ष मायादेवी रानाले भनेकी थिइन्, ‘निर्वाचनको बेला जनतासँग गरिएको वाचा पुरा गर्दै गएका छौं ।’ पुल निर्माणले पूर्णता पाउनेमा आशंका उब्जिएको स्थानीय बताउँछन् ।
बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रालीले १० लाख रुपैयाँ सहयोग गरेपछि पुल निर्माणका लागि डिपिआर तयार भएको थियो ।
२ करोड १२ लाख रुपैयाँ लागत अनुमान गरिएको पुलको कास्यप निर्माण सेवाले १ करोड ४० लाख ४३ हजार १४५ रुपैयाँमा ठेक्का लिएको हो । शुक्लागण्डकी र म्याग्देले समान ७० लाख २१ हजार ५७२ रुपैयाँ पुल निर्माणमा लागत साझेदारी गर्नेछन् ।
२०७८ असोज ४ गते पुल निर्माणका लागि कास्यप निर्माण सेवा एण्ड सप्लार्यस काठामाडौँलाई ठेक्का दिइएको हो । सम्झौता अनुसार गत मंसिर ५ गते पुल निर्माण सकेर हस्तानतरण हुनपर्ने थियो ।
पुल निर्माण पुरा नभएपछि गाउँपालिकाले ठेकेदार कम्पनीलाई फेरि ६ महिनाको म्याद थप दिएको छ । तर, बर्खापछि ठेकेदार कम्पनीका प्रतिनिधि र कामदार निर्माणस्थलमा देखा परेका छैनन् । पुलको काम छिटो गर्नलाई ताकेता भइरहेको म्याग्दे गाउँपालिकाका इञ्जिनियर शिव ज्ञवालीले बताए ।
‘अर्को नयाँ विङ हालेर काम सुरु गर्न भनेका छौँ । छिटो काम गर्नलाई पत्र काटेका छौँ । आउँछु भन्छ आउदैन्’, उनले भने । म्याग्दे खोला हिँउदयाममा सानो भएपनि बर्खामा भने स्वरुप फेर्दै गड्गडाउँछ ।
प्रकाशित मिति २०७९ मंसिर २७ गते मंगलबार ०४:५५




