कोटेसाङ भीरका ३० वटा मौरीको गोलाबाट मह निकालिँदै
पोखरा
कास्कीको अन्नपूर्ण गाउँपालिका-७ लान्द्रुकमा हनी हन्टिङ फेस्टिबल २०७९ सुरु भएको छ । मोदी खोला किनारको कोटेसाङ महभीरमा मंगलबारदेखि भीर मह झिक्ने काम सुरु भएको हो । फेस्टिबलको मंगलबार अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष केसीले गाउँपालिकाले पर्यटकीय गन्तव्य विकासमा कुनै आर्थिक समस्या हुन नदिने उनले प्रतिबद्धता जनाए । `लान्द्रुक पर्यटकीय गाउँ हो । कमजोरीलाई सच्याएर सुन्दर बनाउनु छ,´ उनले भने, `गाउँलेले मेहनत गरे गाउँपालिकाले साथ दिन्छ । हनी हन्टिङ पर्यटन विकासको एउटा माध्यम हो । आर्थिक समस्या हुन्छ भन्ने चिन्ता नगर्नुहोला ।´हनी हन्टिङलाई आवश्यक स्रोतसाधनका योजना ल्याउन अध्यक्ष केसीले आग्रह गरे । गाउँपालिकाको बजेटबाट लान्द्रुक पुग्ने बाटो दुईतर्फी बनाएर स्तरोन्नति गर्ने उनको प्रतिबद्धता छ । संघ र प्रदेशबाट पनि यो सडकलाई बजेट विनियोजन गर्न पहल गर्ने अध्यक्ष केसीको भनाइ थियो । गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले लान्द्रुकको महलाई विदेशसम्म निर्यात गर्न सक्नुपर्ने बताइन् ।

मह निकालिने कोटेसाङ भीर
कोटेसाङ भीरमा ३० वटा मौरीका गोला छन् । दुई दिन लगाएर ती सबै गोलामा परेको मह निकालिने फेस्टिबल आयोजक समिति सचिव कमल गुरुङले जानकारी दिए । `सबै गोलामा मह नहुन पनि सक्छ । मह राम्रै निस्किने भयो भने ३/४ दिन लाग्न सक्छ,´ उनले भने ।
जेठ र मंसिर गरेर वर्षमा दुईपटक मह काढिन्छ । दोस्रो सिजनको मह निकाल्ने दुई दिनलाई लान्द्रुकमा फेस्टिबल नै आयोजना गरिएको हो ।
प्रकाशित मिति २०७९ मंसिर २७ गते मंगलबार ०४:५२




