२०८३ साउन २१ गते बिहीबार

राजनीति

प्रकाशलाई जता गए नि अवसरः राप्रपाबाट पद प्रतिष्ठा, एमालेबाट समानुपातिक सांसद

प्रकाशलाई जता गए नि अवसरः राप्रपाबाट पद प्रतिष्ठा, एमालेबाट समानुपातिक सांसद

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २७ गते मंगलबार ०६:०२

राप्रपाबाट पद र शक्ति आर्जन गरेका प्रकाश एमाले छिरेपछि पनि अहिले प्रकाश गण्डकी प्रदेश सभाको समानुपातिक सांसद बनेका छन् । निष्ठाको राजनीति गर्नेलाई पन्छाएर पैसाको बलमा केसीलाई समानुपातिक सांसद बनाइएको एमाभन्दैलेभित्र अहिले आलोचना भइरहेको छ ।

पोखरा
२०७४ सालको चुनावअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्व सांसद सूर्यबहादुर केसी नेपाली कांग्रेस प्रवेश गर्दा उनका बहिनी ज्वाइँ तथा राप्रपा केन्द्रीय सदस्य प्रकाशबहादुर केसी नेकपा एमालेतिर लागे ।

सूर्यबहादुरलाई सभापति शेरबहादुर देउवाले कांग्रेस भित्राएका थिए भने सूर्यबहादुरकै व्यावसायिक जीवनका सहयोगीसमेत रहेका प्रकाशबहादुरलाई तत्कालीन केन्द्रीय सदस्य रवीन्द्र अधिकारी, खगराज अधिकारी र कास्की जिल्ला इन्चार्ज मानबहादुर जिसीले कागजै गराएर एमाले प्रवेश गराए ।

राप्रपाका नेता पशुपतिशमशेर राणा, सुनीलबहादुर थापाका विश्वास पात्र मानिने प्रकाशबहादुर एमाले प्रवेश गर्दा नेपाल खाद्य संस्थानका अध्यक्ष थिए । त्योबेला प्रकाशबहादुरलाई पैसा लिएर अध्यक्ष नियुक्त गरेको भन्दै राप्रपाभित्र चर्को आलोचना भएको छ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहका पालामा पोखरा–१२ को वडाध्यक्ष भएका प्रकाश २०७१ मंसिर १८ मा खाद्य संस्थानको अध्यक्ष भएका थिए । राप्रपाबाट २०५४ सालमा नगर परिषद सदस्य चुनिएका प्रकाशबहादुर न्यायिक समिति अध्यक्षसमेत भएका थिए ।

जीवन भर नै राप्रपाबाट पद र शक्तिमा पुगेका प्रकाश एमाले छिरेपछि पनि अहिले प्रकाश गण्डकी प्रदेश सभाको समानुपातिक सांसद बनेका छन् । निष्ठाको राजनीति गर्नेलाई पन्छाएर पैसाको बलमा केसीलाई समानुपातिक सांसद बनाइएको भन्दै एमालेभित्र अहिले आलोचना भइरहेको छ ।

‘समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनाइएका प्रकाश केसी को हुन ?,’ एमाले निकट अनेरास्ववियु गण्डकीका अध्यक्ष प्रकाश पौडेलको प्रश्न छ, ‘उहाँको सामाजिक राजनीतिक योगदान के हो जसको कारण एमालेले आफ्ना नेता साइड लगाएर उनलाई सदन पु¥याउन बाध्य बनायो ? यो स्वार्थको भन्डाफोर गरिनेछ ।’ गण्डकी प्रदेश सभाको निम्ति समानुपातिक बन्द सूचीमा नाम रहँदादेखि नै आफूहरुले पार्टीभित्र प्रश्न उठाएको उनको भनाइ छ ।

नेकपा एमालेका एक केन्द्रीय नेताले पैसाकै कारण उनी एमालेबाट सांसद हुन सफल भएको र चुनावमा उम्मेदवार तथा नेताहरु पैसासमेत दिएको बताउँछन् । गण्डकी प्रदेश सभाका लागि एमालेले समानुपातिक सांसदका उम्मेदवारको बन्द सूचीमा उनको नाम खसआर्यबाट २ नम्बरमा थियो । प्रत्यक्षमा १२ सिट जितेको एमालेले समानुपातिकतर्फ १० जना सांसद पाएको छ । जसमा खसआर्यबाट २ महिला र २ पुरुषसहित ४ जना, जनजातिबाट महिला पुरुष २÷२ जना र दलितबाट महिला पुरुष २ जना छन् ।

कास्की एमाले इन्चार्ज कृष्ण थापाले केसीलाई कम प्राथमिकतामा राखिएको भए पनि उनको भाग्य खुलेको बताए । ‘२ जना महिलाले चुनाव जित्नु, कुनै एक जना पुरुष सांसद कम चुनिनु र सबै क्लस्टर मिल्दा उनको भाग्य खुल्यो,’ थापाले भने, ‘बरु समानुपातिक सूची बनाउँदा नै धेरै ठाउँमा मिलाइएको रहेनछ ।’

पार्टीभित्र कस्ता व्यक्तिले ठाउँ पाउँदैछन् भन्ने उदाहरण संघमा एकनाथ ढकाल र गण्डकी प्रदेशमा प्रकाशबहादुर केसीलाई हेरे पुग्ने कास्की एमालेका एक नेताले बताए । ठेक्कापट्टादेखि घरजग्गाको कारोबार गर्नेदेखि व्यवसायी सूर्यबहादुरका विभिन्न व्यवसाय उनले नै हेर्ने गरेका थिए । पोखराकै प्रतिष्ठित व्यावसायिक घराना केसी समूहबाटै उनले पनि आफ्नो राजनीतिक तथा व्यावसायिक दायरा बढाएका थिए ।

प्रकाशसँग लामो सँगत गरेका एक हितैसीले भने, ‘उनी निकै चलाख छन् । जहिले पनि केन्द्रका नेताहरु र शक्तिको वरिपरी रहे । पोखरा–१२ हस्पिटलचोकमै उनका २/३ वटा घर छन् । घरले सार्वजनिक जग्गा मिचेको आरोपसमेत लागेको थियो । उनी राप्रपामा भए पनि सबै पार्टीहरुलाई पहिलेदेखि नै चन्दा सहयोग पनि गर्थे ।’

सांसद प्रकाशबहादुरले भने एमाले प्रवेश गरेपछि गरेको योगदान र काम हेरेर नै समानुपातिक सांसदको लिस्टमा राखिएको र प्रक्रियाअनुसार नै आफू छानिएको बताए । ‘हिजो जुन पार्टीमा भए पनि आज कुन पार्टीमा छ र के गर्न सक्छ भन्ने हेर्ने होला । यहाँ मन्त्री नै अर्को पार्टीमा लाग्दा त केही हुँदैन भने म त एमालेकै कार्यकर्ता हुँ,’ उनले भने ।

प्रकाशित मिति २०७९ मंसिर २७ गते मंगलबार ०६:०२
हजुरको प्रतिक्रिया