पोखरा
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल विश्व राजनीतिको शिकार भएको बताएका छन् । संसदीय निर्वाचनमा आएको मत परिणामलाई लिएर पोखरेलले नेपाल विश्व राजनीतिको शिकार भएको बताएका हुन् । प्रेस चौतारी कास्कीले बुधबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले आन्तररिक कारणले मात्र नभइ एसियामै अस्थिर चाहने शक्तिका कारण मुलुकमा अस्थिरता निम्तिएको दाबी गरे ।
संसदीय निर्वाचनमा जनताले दिएको जनमतले देशलाई निकास दिन नसक्ने उनले बताए । ‘पश्चिमा संस्कृतिको प्रभावमा परेकाले स्वतन्त्र राष्ट्रिय पार्टीलाई मत दिएको देखियो,’उनले भने,‘सनातन हिन्दू धर्म पक्षधरले राप्रपालाई भोट दिए, यसले देशलाई निकास दिँदैन ।’ अहिलेको जनादेशले मुलुकमा झन अस्थिरता निम्तिएको भनाइ उनको छ । गठबन्धनप्रति जनताको विश्वास नभएको र एमालेसँग देशको नेतृत्व गर्ने जनादेश नभएकाले मुलुक झन समस्यामा फस्न सक्ने उनको दाबी छ ।
‘मुलुकलाई सही ढंगले अगाडि बढाउन नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा कार्यगत सहकार्य गर्नुको विकल्प छैन,’ उनले भने, ‘अहिलेको गठबन्धन रहँदासम्म त्यो सम्भव पनि छैन, यसमा नेपाली कांग्रेस तयार छैन । एमालेले भनेर मात्र हुँदैन । ’ देशको राजनीति दुई पार्टीमा धुव्रीकरण नहुँदा सम्म स्थायित्व कायम हुन नसक्ने उनले बताए ।
पत्रकारको जिज्ञासामा तत्काल कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सम्भावना नभएको बताए । उनले गठबन्धनले निकास दिन नसक्ने भन्दै देशको विकास र समृद्धिको लागि बलियो शक्ति नै आवश्यक भएको बारे जनतालाई भनिरहेने बताए । एमालेको नीति र कार्यक्रम राम्रो हुँदाहुँदै पनि जनतालाई बुझाउन नसक्नु कमजोरी भएको उनले स्वीकार गरे ।
‘जनताले एमालेलाई सत्तामा जाने जनादश दिएका छैनन्’,उनले भने,‘एमाले सत्तालाई प्राथमिकतामा राखेको छैन,स्वार्थका लागि एमाले सरकारमा जादैन ।’ अर्को प्रसंगमा सरकारले राजनीतिक समूहका मुद्दा फिता लिन अध्यादेश ल्याउनुु गलत भएको बताए । प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मोतीसागर अधिकारी र सचिव रञ्जन अधिकारीले पनि बोलेका थिए ।
प्रकाशित मिति २०७९ मंसिर २८ गते बुधबार १०:२३




