पोखरा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिका चतुर खेलाडी मात्रै नभएर अस्थिर नेताका रुपमा पनि चिनिन्छन् । उनको एउटा आदत छ, प्रत्येक पटक निर्वाचन क्षेत्र फेरिरहने । सशस्त्र द्वन्द्वपछि उनले प्रत्येक निर्वाचनमा क्षेत्र फेरिरहेका छन् ।
सशस्त्र द्वन्द्वलाई पूर्णविराम लगाएर उनको पार्टी शान्ति प्रक्रियामा सामेल भएपछि चार वटा निर्वाचन भएका छन् । २०६४ मा भएको पहिलो संविधान सदस्य निर्वाचनमा प्रचण्डले राजधानी काठमाडौं–१० र सशस्त्र जनयुद्धको उद्गमस्थल रोल्पा–२ बाट उम्मेदवार भए । दुवै निर्वाचन क्षेत्रबाट उनी निर्वाचित पनि भए । २०७० मा दोस्रो संविधान सभा सदस्य निर्वाचनमा उनले रोल्पा–२ छाडे । काठमाडौं–१० सँगै सिराहा–५ बाट निर्वाचन लडे । काठमाडौं–१० मा प्रचण्डको दोस्रो जित दर्ता हुन सकेन ।
मुलुकमा संघीय शासन व्यवस्था लागूपछि २०७४ मा भएको आम निर्वाचनमा उनले काठमाडौं सिराहालाई चटक्क बिर्सेर चितवन पुगे । चितवन उनको गृह जिल्ला पनि हो । चितवन–३ मा बाम गठबन्धनको साझा उम्मेदवार बनेका उनी विजयी भए । गत मंसिरमा भएको आम निर्वाचनमा उनले चितवन असुरिक्षत ठानेर गोरखा–२ मा उक्लिए । गोरखामा उनी उक्लिएपछि जनयुद्धको बेला प्रचण्डका सहयोद्धा हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन लडेनन् ।
माओवादीले बहुमत पालिका जितेका गोरखामा सुरक्षित महसुस गर्दै उक्लिएका उनले निर्वाचन क्षेत्र फेरिरहने रेकर्ड बनाए । तर, फराकिलो मतान्तरले निर्वाचित हुने इतिहास रच्नबाट वञ्चित भए ।

जन्मस्थान अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा प्रचण्डलाई स्वागत गरिदै । तस्बिरः प्रचण्डको फेसबुक पेज
सत्ता गठबन्धनका साझा उम्मेदवार प्रचण्ड गोरखा–२ मा १३ हजार ४६६ मतान्तरसहित निर्वाचित भएका हुन् । प्रचण्डले २६ हजार १०३ मत गर्दा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरे । निर्वाचनअगाडि प्रचण्डलाई चुनौति दिँदै हिँडेका नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले ७ हजार ३९३ मत ल्याउँदै तेस्रो बने ।
निर्वाचनको मतपरिणाम आइसकेकाले यतिबेला सरकार गठनको जोडघटाउ चलिरहेको छ । सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमती दलहरुले गरेका छन् । अबको प्रधानमन्त्री आफू बन्नलाई गृहकार्यमा व्यस्त प्रचण्ड बुधबार जन्मथलो कास्कीको ढिकुरीपोखरी उक्लिए । प्रचण्ड कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नाँगडाँडास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक महोत्सवमा सहभागी हुन आएका हुन् ।
नयाँ सरकार गठनको माहोलमा उनी महेन्द्र आधारभूत विद्यालयको कार्यक्रममा पुगे । जहाँ उनले शिशु र कक्षा १ सम्म अध्ययन गरेका थिए । त्यसपछि उनको परिवार चितवन बसाइँ स¥यो ।
निर्वाचनपछाडि पहिलो कार्यक्रम हीरक महोत्सवमा आएको बताएका प्रचण्डले अबको निर्वाचन जन्मथलो कास्कीबाट चुनाव लड्ने संकेत गरे । ‘ममात्रै त्यस्तो नेता भएको छु जो पहिलो पटक काठमाडौं र रोल्पाबाट निर्वाचन लड्यो । दोस्रो पटक मधेसमा एकदम आगो बल्लाजस्तो देखिएपछि मधेसमै गएर त्यहाँको जनताको विश्वास जितेर राष्ट्रिय एकता सुदृढ गर्नेगरी सिराहामा गएर चुनाव लड्यो,’ उनले भने, ‘त्यसपछि फेरि आफ्नो अहिलेको गृहजिल्ला चितवनबाट चुनाव लडें ।’
प्रचण्डले अबको निर्वाचनमा आफू कास्कीबाट लड्न सक्ने संकेत दिँदै अगाडि थपे, ‘तपाईंहरुलाई थाहा छ भर्खरै गोरखा गएर त्यहाँबाट निर्वाचित भएको छु । मलाई लाग्छ समय भने जस्तो भयो भने अर्को पटक कास्की हुन पनि बेर छैन ।’
‘हुन पनि बेर छैन् भन्याछु है मैले । त्यो बुझिराख्नुहोला’, मसुक्क मुस्कुराउँदै प्रचण्ड सुनिए । देशभरका जनताको चहाना र भावना बुझेर सम्बोधन गर्नलाई आफू समर्पित हुने उनको भनाइ छ । आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्नेसमेत बताए ।
‘तपाईहरुको आशिर्वाद लाग्यो । तपाईहरुको माया र शुभकामनाले काम ग¥यो भने मलाई लाग्छ छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु । र यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु’, उनले भने । देशको नेतृत्व गर्न पाए अन्नपूर्णमा अविस्मरणीय विकासका काम गर्ने दाबी प्रचण्डको छ ।
प्रचण्डले २५ मिनेट लामो सम्बोधनको सुरुवातमै बाल्यकाल सम्झिएर ‘नोस्टालजिक’ भए । विद्यालयको कार्यक्रममा सहभागि हुनु आगडि प्रचण्डले जन्मस्थान लेवाडे पुगेर आफन्त र कार्यकर्तासँग भेटघाट गरेका थिए ।
प्रचण्ड २०७५ बैशाखमा पनि परिवारका सदस्य लिएर जन्मथलो ढिकुरपोखरीको लेवाडे पुगेका थिए । त्यतिबेला उनले यहीं घर बनाउने समेत बताएका थिए ।’
जन्मस्थान अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा आफन्त र कार्यकर्तासँग प्रचण्ड । तस्बिरः प्रचण्डको फेसबुक पेज
प्रकाशित मिति २०७९ मंसिर २८ गते बुधबार ०६:२०




