२०८३ असोज २३ गते शुक्रबार

लान्द्रुकमा होटलको जग बसाएका मोती

लान्द्रुकमा होटलको जग बसाएका मोती

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २९ गते बिहीबार ०३:०१

होटल बनेपछि जयबहादुरले मोतीलाई आफ्नो होटल जिम्मा लगाए । त्यो होटल नै लान्द्रुक गाउँको पहिलो होटल थियो ।

लान्द्रुकको पहिलो होटल चलाउनेको कथा

पोखरा

कास्कीको लान्द्रुक गाउँ हुँदै दुई वटा चल्तीका अन्नपूर्ण र मर्दी हिमाल बेसक्याम्प पुगिन्छ । यी दुवै गन्तव्य पुग्न कास्कीको अन्नपूर्ण गाउँपालिका–७ स्थित लान्द्रुक गाउँ हुँदै जानेहरु निकै कम हुन्छन् ।

चार दशकअघि अन्नपूर्ण बेसक्याम्प जाने झिनुसम्म बाटो पुगेको थिएन । त्यसो हुँदा धम्पुस, देउराली, लान्द्रुक हुँदै पर्यटक अन्नपूर्ण बेसक्याम्प पदमार्गको छोम्रोङ पुग्थे ।

२०३० सालबाट लान्द्रुक हुँदै छोम्रोङ जाने विदेशी छिटपुट देखिन थाले । त्यसपछि २०३१/३२ सालतिर लान्द्रुकमा क्याप्टेन जयबहादुर गुरुङले ‘लालीगुराँस होटल’ खोले । होटल खुल्दा मोतीबहादुर गुरुङ पर्यटकलाई चिया–खाजा खुवाउन रेष्टुरेन्ट चलाउँथे ।

होटल बनेपछि जयबहादुरले मोतीलाई आफ्नो होटल जिम्मा लगाए । त्यो होटल नै लान्द्रुक गाउँको पहिलो होटल थियो । ‘गाउँको बाटो पर्यटक हिँड्न थालेको थियो । त्यसपछि मलाई कप्तान सा’बले होटल चलाउन दिनुभयो । होटल त एकदमै राम्रो चल्यो,’ ७२ वर्षीय उनी सम्झन्छन्, ‘त्यो लान्द्रुकको पहिलो होटल थियो । पछि अरुले पनि खोल्नुभयो ।’

रेष्टुरेन्ट खोल्नुअघि २०२८ सालतिर मोती भागेर भारत हुँदै भुटान पुगेका थिए । केही समय बसेपछि फर्किए । त्यसपछि उनले रेष्टुरेन्ट खोलेका थिए । मामा नाता पर्ने जयबहादुरले जिम्मा लगाइदिएको होटल राम्रै चल्यो । त्यतिबेला क्याम्पिङ पर्यटन राम्रो चलेको मोती सुनाउँछन् । मोतीले चार/पाँच वर्षपछि गाउँमै जग्गा किनेर घर बनाए । त्यसैमा उनले ४० वर्षअघि होटल मुनलाइट खोले । ‘अहिले त नयाँ नयाँ घरहरु साथीहरुले पनि राम्रो प्रगति गरेको छ,’ उनले सुनाए ।

 

 

आजकल लान्द्रुकमा पर्यटकको त्यति साह्रो चाप छैन । पर्यटक बढाउन मर्दी हिमाल आधर शिविर जान स्थानीयले लान्द्रुकबाट जाने रुट प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । लान्द्रुकमा अहिले १२ वटा होटल र ३ वटा होमस्टे छन् । ती पनि सबै चलेका छैनन् । होटल छन्, तर पर्यटक एकाधबाहेक बस्दैनन् ।

पदमार्ग मासिएर सडक बन्दा आफूहरुको गाउँ छायाँमा परेको मोती सुनाउँछन् । अन्नपूर्ण आधार शिविरको झिनुसम्म बाटो पुगेको छ । मर्दी जान सिदिङसम्म बाटो पुगेको छ । त्यसले गर्दा लान्द्रुकबाट जाँदा लामो पर्ने भएपछि पर्यटकले यो रुट प्रयोग गर्न छोडेका हुन् ।

प्रकाशित मिति २०७९ मंसिर २९ गते बिहीबार ०३:०१
हजुरको प्रतिक्रिया