पोखरा
पोखराका विभिन्न ठाउँमा वृद्धाहरुलाई ललाइफकाइ गरी सुनका गहना लुटेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारको टोलीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नं. ६ घर भई पोखरा महानगरपालिका वडा नं. ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
बुधबार पक्राउ परेकी श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकाी दिए । प्रहरीका अनुसार पक्राउ परेकी महिलाले घरमा अन्य सदस्य नभएको मौका पारी वृद्धाहरुलाई ललाइफकाइ गरेर गरगहना र नगद लुट्ने गरेकी थिइन् । पोखरा वडा नम्बर ४, १०, ११, १२, १३, १५ र २७ नम्बर वडा विभिन्न ठाउँबाट ती महिलाले गरगहना र नगद लुटेको प्रहरीको भनाइ छ ।
पक्राउ परेकी महिलाको साथबाट चोरी भए मध्येको सुनको पोते सहितको तिलहरी १ थान, औंठी १ थान र कानमा लगाउने फुली १ जोर, सुन जस्तो देखिने सिक्री, बाला, औंठी, मोबाईल लगायतको धातुको गहनाहरू र चोरी गर्दा लगाएको कपडाहरू प्रहरीले वरामद गरेको छ । पीडितहरुका अनुसार पक्राउ परेकी महिलाले करिब २७ लाख बराबरको धनमाल लुटेकी छन् ।
प्रकाशित मिति २०७९ पुस १ गते शुक्रबार ०८:५६




