२०८३ असोज २३ गते शुक्रबार

कसले उचाल्ला विश्व कप ?, यस्तो छ फ्रान्स र अर्जेन्टिनाको इतिहास

कसले उचाल्ला विश्व कप ?, यस्तो छ फ्रान्स र अर्जेन्टिनाको इतिहास

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १ गते शुक्रबार १०:२५

दुई/दुई पटक विश्व कप जितेका फ्रान्स र अर्जेन्टिनाको खेल निकै प्रतिष्पर्धात्मक हुनेछ ।

पोखरा

नेपालमा संसदीय निर्वाचनको मतदान भएको दिन गत मंसिर ४ गतेदेखि एसियाली देश कतारमा सुरु भएको विश्व कप २०२२ अन्तिम चरणमा छ । आगामी आइतबार राति यो वर्षको विश्व कप विजेताको छिनोफानो हुनेछ ।

चार वर्षपछि सन २०२६ मा विश्व कप हुनेछ । त्यो फिफा विश्वकपको २३ अैां संस्करण हुनेछ । यो प्रतियोगिता संयुक्त उत्तरी अमेरिकी देशहरूका १६ सहरहरूमा संयुक्त रूपमा आयोजना गरिने छ । क्वाटरफाइनल, सेमिफाइनल र फाइनलसहित ६० खेल संयुक्त राज्य अमेरिकामा र छिमेकी क्यानाडा र मेक्सिकोले प्रत्येक १०–१० खेलहरूक आयोजना गर्नेछन् । यो प्रतियोगिता पहिलो पटक ३ राष्ट्रद्वारा आयोजित हुनेछ । सन २०२६ देखि ४८ देश विश्व कपमा सहभागी हुनेछन् ।

२२ औं संस्करणको विश्व कपको फाइनलमा अर्जेन्टिना र फ्रान्स पुगेका छन् । अर्जेन्टिनाले क्रोएसियालाई सेमिफाइनलमा पराजित गरेर फाइनल पुगेको हो भने फ्रान्स मोरोक्कोलाई सेमिफाइनलमा पराजित गरेर फाइनल यात्रा तय गरेको हो । पहिलो विश्व कप १९३० मै फाइनल पुगेको अर्जेन्टिनाले २ पटक विश्व कप उचालेको छ । अर्जेन्टिनाले सन १९७८ र १९८६ मा विश्व कप जितेको हो । अर्जेन्टिना विश्व कपमा ५ पटक फाइनल पुग्दा २ पटक उपाधि जित्यो भने तीन पटक उपविजेता बन्यो । अर्जेन्टिना सन १९३० उरुग्वे, १९९० र २०१४ मा जर्मनीसँग पराजित भएर उपविजेता बनेको हो । यो पटक फाइनलमा फ्रान्सलाई पराजित गरी तेस्रो पटक विश्व कप उचाल्ने दाउमा अर्जेन्टिना छ ।

अर्जेन्टिनालाई उपाधि दिलाउन आफ्नो पुस्तामा सर्वश्रेष्ठ मानिएका लयोनेल आन्द्रेस मेसीको भूमिका महत्वपूर्ण रहनेछ । उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना गर्ने गरिएको छ । आफ्नो देशलाई विश्व कपको उपाधि दिलाउने मेसीका लागि यो अन्मित मौका समेत भएको खेल विश्लेषकहरुले बताउने गरेका छन् । अर्जेन्टिनाले यो पटक उपाधि जितेमा ३५ वर्षीय मेसीले खेल जीवनबाट सन्यास लिनसक्ने चर्चा समेत गरिएको छ । उनले १९ वर्षको उमेरमा सन २००६ मा विश्व कप खेलेका थिए । यो बीचमा सन २०१४ मा अर्जेन्टिना फाइनलमा पुगेर उपविजेता बनेका थियो ।

विश्व कपको साविक विजेता फ्रान्स आफ्नो विजय यात्रालाई निरन्तरता दिने पक्षमा छ । सन १९९८ र २०१८ मा फ्रान्सले विश्व कप उचालेको छ । विश्व कपमा दुई पटक मात्र फाइनल पुगेर उपाधि जित्ने भाग्यमानी टिम मानिन्छ फ्रान्स । पाँच पटक फाइनल खेलेर २ पटक उपाधि जितेको अर्जेन्टिनालाई रोकेर तेस्रो पटक विश्व कप उचाल्ने योजनामा छ फ्रान्स । फ्रान्सका युवा फरवार्ड केलियन एमबाप्पेलाई मेसीपछि अर्का स्टारको उदय रुपमा हेरिएको छ । फ्रान्सलाई उपाधि दिलाउन उनको महत्वपूर्ण भूमिका रहनेछ । एमबाप्पेको तीव्र गतिमा बल अघि बढाउने शैली गजबको छ । उत्कृष्ट कौशल, तेज दिमाग, दुवै खुट्टा समान गतिमा चलाउन सक्ने क्षमतावान खेलाडी हुन् । सन २०२२ को फाइनल खेल नेपाली समय अनुसार आइतबार राति हुनेछ । तेस्रो स्थानको लागि क्रोएसिया र मोरोक्कोबीचको खेल भोलि शनिबार राति हुनेछ ।

 

 

प्रकाशित मिति २०७९ पुस १ गते शुक्रबार १०:२५
हजुरको प्रतिक्रिया