२०८३ साउन २१ गते बिहीबार

पोखरा वडा कार्यालय १५ र आइएनफबीच सेवा विस्तार सम्झौता

पोखरा वडा कार्यालय १५ र आइएनफबीच सेवा विस्तार सम्झौता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १ गते शुक्रबार ११:४८

सहमति अनुसार आइएनएफले प्रदान गर्ने ३ लाख ६० हजार रुपैंयाँ उक्त स्वास्थ्य सेवा केन्द्रको स्वास्थ्य सम्बन्धी उपकरण, भौतिक संरचना तथा औषधी खरिदका लागि खर्च हुनेछ ।

पोखरा

 

पोखरा महानगरपालिका वडा नं –१५ र आइएनएफ नेपालबीच थप ‘स्वास्थ्य सेवा’ विस्तारका लागि सहमति भएको छ । पोखरा –१५ को वडा कार्यालयबाट अतिरिक्त स्वास्थ्य सेवा दिँदै आइरहेको स्वास्थ्य केन्द्रको थप सेवा विस्तारका लागि वडा अध्यक्ष तोरणबहादुर बानिया र आइएनएफ नेपालका कार्यकारी निर्देशक कृष्णबहादुर अधिकारीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

 

सहमति अनुसार आइएनएफले प्रदान गर्ने ३ लाख ६० हजार रुपैंयाँ उक्त स्वास्थ्य सेवा केन्द्रको स्वास्थ्य सम्बन्धी उपकरण, भौतिक संरचना तथा औषधी खरिदका लागि खर्च हुनेछ । वडा अध्यक्ष बानियाले स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि वडाले सहयोगको माग गरेको र आफूहरूको मागलाई सहर्ष स्वीकार गरी आइएनएफले सहयोगका लागि अग्रसरता देखाएकोमा खुसी व्यक्त गरे । उनले १५ नम्बरका संघ संस्था स्थानीय लगायत सबैको समन्वय र सहकार्यमा कार्यक्रमहरूलाई पूरा गर्न लागिरहेको बताए ।

 

आइएनएफ नेपालका कार्यकारी निर्देशक कृष्णबहादुर अधिकारीले नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि फरक अनुभव गरेको प्रतिक्रिया दिए। उनले वडाले प्रस्तुत गरेका परिकल्पना र पछिल्ला सकारात्मक गतिविधिलाई असल नेतृत्वको संज्ञा दिँदै वडा नं –१५ को दिगो सोचलाई अगाडि बढाउनका लागि सहकार्य गर्न तयार रहेको बताए ।

 

आइएनएफ नेपालका मेडिकल सर्भिसेस तथा निर्देशक डा. अरुणकुमार बुढाले हरियो खर्क अस्पताल कुनै समय नेपालमै नभएको विशेषज्ञता भएको अस्पताल रहेको भन्दै यसलाई समय अनुसार अझ विस्तारित गर्दै लगिने बताए । उनले अहिलेको नसर्ने रोगको समस्या रहेको बताउँदै यहाँको वडा, विद्यालय, सहरी स्वास्थ्य कार्यालय तथा यहाँका सबै पक्षहरूसँग मिलेर आगामी कार्यक्रमहरू अगाडि बढाउने बताए । स्वास्थ्य केन्द्रले हाल बहिरंग, खोप सेवा, गर्भवती जाँच, ल्याब, क्षयरोगको औषधी लगायतका सेवाहरू दिइरहेको छ । यसअघि पनि संस्थालाई आइएनएफ, हेप्पी होम, अनुग्रह लगायतका संघ संस्थाले सहयोग गरेका थिए ।

प्रकाशित मिति २०७९ पुस १ गते शुक्रबार ११:४८
हजुरको प्रतिक्रिया