पुस ६ गते सुभारम्भ साँझदेखि ११ गतेसम्म फेवा किनार विचार, विमर्शले गर्माउने
पाेखरा
बुकवर्म फाउन्डेसनले आयोजना गर्दै आएको नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण पुस ६ देखि ११ गतेसम्म पोखरामा हुने भएको छ । शनिबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजकले लेकसाइडस्थित बाराही घाटमा फेस्टिभल हुने जानकारी दिएको हो ।
फेस्टिभलमा यस वर्ष पनि देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजक बुकवर्मले जनाएको छ । फेस्टिभलमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् ।
यस वर्ष फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह प्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वहरूको सहभागिता हुँदै छ ।
साथै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुविन भट्टराई, संगीतकर्मी रज्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका झुमा लिम्बुलगायत पनि सहभागी हुने कार्यक्रम संयोजक सुजता खत्रीले जानकारी दिइन् ।
साथै यस वर्ष फरक क्षमता भई अब्बल रहेको व्यक्तित्वहरु, दार्चुला, गोरखा मनाङका स्थानीय जनप्रतिनिधिहरुको पनि उपस्थिति रहनेछ । फेस्टिभलको पूर्वसन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरले प्रस्तुति दिनेछन् ।
फेस्टिभलको पहिलो दिन गोपाल योन्जनको सम्झनामा गोपालय सांगीतिक प्रस्तुति रहेको गोपालय गीतकार, गायक तथा संगीतकार गोपाल योन्जनको स्वर्गारोहणको २५ वर्षे स्मृति दिवसको छेको पारेर कार्यक्रम आयोजना गरिएको फेस्टिभलका निर्देशक नीरज भारीले जानकारी दिए ।
यस्तै, गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधुनिक संगीतमा सय वर्ष, अनिल शाही र उनको समूहको विशेष सांगीतिक प्रस्तुति र रैथानको प्रस्तुति रहनेछ । फेस्टिभलको अन्तिम दिन प्रदिप रोदनले महफिल जमाउनेछन् ।
‘शब्दशक्ति उत्सवको एक दशक’ नारा रहेको दशौं संस्करणको फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत्प्रवचन रहनेछ ।
‘हामीले गत वर्ष फेस्टिभल आयोजना गर्न पाएनौं । तर यस वर्षको फेस्टिभललाई हामीले विशेष बनाउन खोजेका छौं । त्यसमाथि यस वर्ष दशौ संस्करणको फेस्टिभल हो,’ सुजता खत्रीले भनिन्, ‘देशविदेशबाट पाल्नुहुने हाम्रा सबै पाहुनाहरूलाई हामी सुन्दर नगरी पोखरामा स्वागत गर्न आतुर छौं ।’
पत्रकार सम्मेलनमा आयोजक संस्थाकै भरत कोइरालाले सहरको समृद्धि भौतिक पूर्वाधारले मात्र नहुने भन्दै साहित्य पनि समृद्ध हुनुपर्ने बताए । पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको कोइरालाले बताए । यस फेस्टिभललाई पोखरावासीहरूले उत्साहपूर्वक प्रतीक्षा गरिरहेको उनको भनाइ छ ।
आयोजक संस्थाकै केशवशरण लामिछानेले पनि नेपाल लिटरेचर फेस्टिभलले पोखरालाई सुसंस्कृत, व्यवस्थित बनाउन सकिन्छ भन्ने बहस छेड्ने गरेको बताए । तालको सहर, हिमालमुनिको सहर आदि विभिन्न विशेषताले चिनिरहेको पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभलको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।
नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले नाम लिटरेचर फेस्टिभल भएपनि समाजका सबैजसो क्षेत्रका बारेमा बहस गरिने बताए । फेस्टिभल झम्सिखेलको ज्ञान मण्डलाबाट पोखराको बाराहीघाटमा आइपुगेको बताए ।
फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जबाफदेही बनाउन सघाउँछ । साथै सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको भनाइ छ ।
यसपटक फेस्टिभलको सहआयोजकमा गण्डकी प्रज्ञा प्रतिष्ठान छ भने प्रर्वद्धकको जिममेवारी पोखरा महानगरपालिकाले लिएको छ ।
प्रकाशित मिति २०७९ पुस २ गते शनिबार ०६:२९




