पाेखरा । आईपीएल २०२० अन्तर्गतकाे २८ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ ।
शारजाह स्टेडियममा सम्पन्न खेलमा बैंगलोरले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो। कोलकाताको लागि ओपनर शुबमन गिलले ३४, आन्द्रे रसेल र राहुल त्रिपाठीले समान १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
लक्ष्य पछ्याउने क्रममा कोलकाताले निरन्तर अन्तरालमा विकेट गुमाएको थियो। डेब्यु गरेका ओपनर टम बान्टन ( ८ रन ) चौथो ओभरमा नभदिप सैनीबाट बोल्ड भएपछि दोश्रो विकेटको लागि गिलले नितिश रानासंग २८ रनको साझेदारी गरे। आठौँ ओभरमा रानालाई ( ९ रन ) वासिंगटन सुन्दरले बोल्ड गरे। लगत्तै ओभरमा शुबमन गिल रन आउट भए भने ११ औं ओभरमा युजभेन्द्र चहलले कप्तान दिनेश कार्तिक ( १ रन ) लाई बोल्ड गरे। लगत्तै ओभरमा सुन्दरले ओएन मोर्गन ( ८ रन ) लाई क्याच आउट गराए।
आक्रामक मुडमा देखिएका आन्द्रे रसेललाई इसुरु उडानाले १४ औं ओभरमा क्याच आउट गराए पछि बैंगलोर पूर्णत खेलमा हावी बन्यो। १५ औं ओभरमा क्रिस मोरिसले प्याट कमिंस ( १ रन ) लाई तथा १७ औं ओभरमा राहुल त्रिपाठीलाई मोहम्मद सिराजले पेभेलियन फर्काए।
१ विकेट लिएका चहलले ४ ओभरमा मात्र १२ रन खर्चिए
बैंगलोरको बलिंगमा क्रिस मोरिस ( ४-०-१७-२ ) र वासिंगटन सुन्दरले ( ४-०-२०-२ ) समान २ विकेट लिए । युजभेन्द्र चहलले १ विकेट मात्रै लिएता पनि ४ ओभरमा मात्र १२ रन खर्चिए। नभदिप सैनी ( ३-०-१७-१ ) इसुरु उदाना ( १-०-१५-१ ) , मोहम्मद सिराजले ( ३-०-२४-१ ) समान १ विकेट लिए ।
टस जितेर ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १९४ रन बनाएको थियो ।
बैंगलोरको लागि एबि डी भिल्लीयर्सले सर्वाधिक ७४ रन बनाए । अविजित इनिंग खेल्ने क्रममा उनले ३३ बलमा ५ चौका र ६ छक्का प्रहार गरे । डी भिल्लीयर्सको लिग करियरमा यो ३६ औं तथा जारि सिजन तेश्रो अर्धशतक हो ।
कप्तान बिराट कोहलीले अविजित २८ बलमा १ चौका मद्दतले ३३ रन बनाए । आरोन फिन्चले ४७ ( ३७ बलमा ४ चौका र १ छक्का ) तथा देभदत्त पडीक्कलले ३२ रन ( २३ बलमा ४ चौका र १ छक्का ) बनाए ।
बैंगलोर ओपनर पडीक्कल र फिन्चले ६७ रनको ओपनिंग साझेदारी गरेका थिए। आठौँ ओभरमा पडीक्कललाई आन्द्रे रसेलले बोल्ड गर्दै साझेदारी तोडे। १३ औं ओभरमा फिन्चलाई प्रसिध कृष्णाले बोल्ड गरे।
तेश्रो विकेटको लागि कप्तान कोहली र डी भिल्लीयर्सले उत्कृस्ट साझेदारी गर्दै टिमलाई विशाल योगफलतिर डोर्याएका थिए । ४७ बलमा दुवैले १०० रनको अविजित साझेदारी गरे। १५ ओभरमा १११/२ को अवस्थाबाट बैंगलोरले अन्तिम ५ ओभरमा विकेट नगुमाई बैंगलोरले ८३ रन बनायो।
कोलकाताको बलिंगमा आन्द्रे रसेल ( ४-०-५१-१ ) र प्रसिध कृष्णा ( ४०-४२-१ ) ले समान १ विकेट लिए भने प्याट कमिन्स ( ४-०-३८-० ) , वरुण चक्रवर्ती ( ४-०-२५-० ) र कमलेश नगरकोटी ( ४-०-३६-० ) विकेटविहिन रहे।
जितपछि बैंगलोर ७ खेलमा ५ जित र २ हार पछि १० अंक बटुल्दै अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ। समान अंक रहेता पनि नेट रनरेटमा माथि रहँदै मुम्बई पहिलो र दिल्ली दोश्रो स्थानमा रहेको छ। कोलकाता तेश्रोबाट चौथो स्थानमा पुगेको छ जसको ७ खेलमा ४ जित र ३ हार रहेको छ।
लिग अन्तर्गत कोलकाताले आगामी खेल शुक्रबार मुम्बई बिरुद्ध तथा बैंगलोरले आगामी खेल बिहिबार पन्जाब बिरुद्ध खेल्नेछ।
लिग अन्तर्गत मंगलबारको खेलमा हैदरावाद र चेन्नाईले प्रतिस्पर्धा गर्नेछन्। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल ७:४५ बजे राति सुरु हुनेछ ।
प्रकाशित मिति २०७७ असोज २७ गते मंगलबार ०७:२८




