क्रोएसिया मोरोक्कोलाई हराउँदै तेस्रो
पोखरा
विश्व कप २०२२ को फाइनल खेल आज राति हुँदैछ । फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । खेल नेपाली समय अनुसार राति पौने ९ बजे हुनेछ । अर्जेन्टिना सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्सले सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेको हो । यी दुई देश बीच पहिलो पटक फाइनलमा प्रतिष्पर्धा हुन लागेको हो । २ पटक उपाधि जितेको फ्रान्स विश्व कपको साविक विजेता टोली पनि हो ।
पहिलो विश्व कप १९३० मै फाइनल पुगेको अर्जेन्टिनाले २ पटक विश्व कप उचालेको छ । अर्जेन्टिनाले सन १९७८ र १९८६ मा विश्व कप जितेको हो । अर्जेन्टिना विश्व कपमा ५ पटक फाइनल पुग्दा २ पटक उपाधि जित्यो भने तीन पटक उपविजेता बन्यो । अर्जेन्टिना सन १९३० उरुग्वे, १९९० र २०१४ मा जर्मनीसँग पराजित भएर उपविजेता बनेको हो । यो पटक फाइनलमा फ्रान्सलाई पराजित गरी तेस्रो पटक विश्व कप उचाल्ने दाउमा अर्जेन्टिना छ । अर्जेन्टिनालाई उपाधि दिलाउन आफ्नो पुस्तामा सर्वश्रेष्ठ मानिएका लयोनेल आन्द्रेस मेसीको भूमिका महत्वपूर्ण रहनेछ । आफ्नो देशलाई विश्व कपको उपाधि दिलाउने मेसीका लागि यो अन्मित मौका समेत हो । उनले भनिसकेका छन् ‘फाइनल मेरो अन्तिम खेल हुनेछ ।’
मेसीले १९ वर्षको उमेरमा सन् २००६ मा विश्व कप खेलेका थिए । यो बीचमा सन २०१४ मा अर्जेन्टिना फाइनलमा पुगेर उपविजेता बनेका थियो । विश्व कपको साविक विजेता फ्रान्स आफ्नो विजय यात्रालाई निरन्तरता दिने पक्षमा छ । सन १९९८ र २०१८ मा फ्रान्सले विश्व कप उचालेको छ । विश्व कपमा दुई पटक मात्र फाइनल पुगेर उपाधि जित्ने भाग्यमानी टिम मानिन्छ फ्रान्स । पाँच पटक फाइनल खेलेर २ पटक उपाधि जितेको अर्जेन्टिनालाई रोकेर तेस्रो पटक विश्व कप उचाल्ने योजनामा देखिएको छ फ्रान्स । फ्रान्सका युवा फरवार्ड केलियन एमबाप्पेलाई मेसीपछि अर्का स्टारको उदय रुपमा हेरिएको छ । फ्रान्सलाई उपाधि दिलाउन उनको महत्वपूर्ण भूमिका रहनेछ । एमबाप्पेको तीव्र गतिमा बल अघि बढाउने शैली गजबको छ । उत्कृष्ट कौशल, तेज दिमाग, दुवै खुट्टा समान गतिमा चलाउन सक्ने क्षमतावान खेलाडी हुन् ।
अर्जेन्टिना र फ्रान्स १२ पटक आमने सामने
फ्रान्स र अर्जेन्टिनाबीच यसअघि १२ खेल भएका छन् । यी खेलमा अर्जेन्टिना अगाडि छ । उसले ६ खेल जितेको छ भने फ्रान्सले ३ खेल मात्र जितेको छ । ३ खेल बराबरी भएका छन् । विश्व कप अन्तर्गत दुई देशबीच तीन वटा खेल हुँदा अर्जेन्टिनाले २ र फ्रान्सले १ खेल जितेका छन् । पछिल्लो पटक सन् २०१८ मा रुसमा भएको विश्व कपमा प्रतियोगिताको अन्तिम–१६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले हराएको थियो । सन् १९३० को विश्व कपमा अर्जेन्टिनाले फ्रान्सलाई १–० र सन् १९७८ को विश्व कपको समूह चरणमा ३–१ गोलले हराएको थियो ।
क्रोएसिया तेस्रो
क्रोएसियाले मोरोक्कोलाई पराजित गर्दै विश्वकप फुटबलको तेस्रो बनेको छ । शनिबार राति भएको खेलमा मोरोक्कोलाई पराजित गर्दै क्रोएसिया तेस्रो बनेको हो । खालिफा रंगशालामा भएको खेलमा क्रोएसियाले मोरोक्कोलाई २–१ गोलले पराजित गर्दै तेस्रो बन्यो ।
क्रोएसियाको जितमा जोस्को भार्डिओल र मिस्लाभ ओर्सिचले गोल गरे । मोरोक्कोका लागि अच्राफ डारीले गोल फर्काएका थिए । खेलको सातौँ मिनेटमा नै क्रोएसियाले अग्रता बनाएको थियो । क्रोएसियाका लागि जोस्को भार्डिओलले गोल गर्दै १–० गोलको अग्रता दिलाए । तर क्रोएसियाले बनाएको अग्रता दुई मिनेट बित्न नपाउँदै मोरोक्कोले गोल फर्काएको थियो ।
खेलको नवौँ मिनेटमा मोरोक्कोका लागि अच्राफ डारीले गोल गर्दै १–१ गोलको बराबरी दिलाए । खेलको ४२औँ मिनेटमा मिस्लाभ ओर्सिचले गोल गर्दै क्रोएसियालाई २–१ गोलको अग्रता दिलाए । पहिलो हाफमा अग्रता बनाएको क्रोएसियाले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई जोगाउँदै जित निकालेको हो । यस अघि मोरोक्को सेमिफाइनलमा फ्रान्ससँग २–० गोलले पराजित भएको थियो । क्रोएसिया भने अर्जेन्टिनासँग ३–० ले हारेको थियो ।
प्रकाशित मिति २०७९ पुस ३ गते आइतबार ०९:२८




