२०८३ साउन २१ गते बिहीबार

नेपाली खाना र हिमालले लोभिए विवेक ओबेराय

नेपाली खाना र हिमालले लोभिए विवेक ओबेराय

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ पुस ३ गते आइतबार ०७:५४

‘मैले पोखरा विमानस्थल हेरें । विश्वभरबाट धेरै पर्यटक आउने सोचेको छु । अझ भारतबाट धेरै पर्यटक आउनेछन् यो विमानस्थल हुँदै पोखरा घुम्नलाई’, उनले भने ।

पोखरा
भारतीय अभिनेता विवेक ओबेराय परिवारसहित नेपाल भ्रमणमा छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ओर्लिएका ओबेराय शुक्रबार पर्यटकीय नगरी पोखरा आए ।

तीन दिनदेखि पोखरा आसपासको गन्तव्यमा रमाइरहेका उनी आइतबार नियमित उडान भर्न तयारी अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्न पुगे । पोखरा पर्यटन परिषद्को पहलमा उनी विमानस्थल पुगेका हुन् ।

उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतम र नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले स्वागत गरे ।

उनलाई विमानस्थलको टर्मिनल भवन हुँदै रनवेसम्म पु¥याइयो । विमानस्थल बारे जानकारी दिँदै ओबेरायलाई गौतमले भने, ‘तपाईंको ट्विटरमा पोखरा विमानस्थलको ट्विट गर्दिनुहोला ।’

ओबेरायले जिस्किदै जवाफ दिए, ‘पुनमजीलाई भन्नुहोला ।’

टर्मिनल भवनबाट प्रवेश गरेर रनवेसम्म पुगेका उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पोखरेली र नेपालीका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षको उपहार हुने बताए ।

जनवरी १ देखि विमानस्थलमा नियमित उडान भर्ने तयारी छ । एरोथाई कम्पनीको जहाजले गत मंसिर ५ देखि ११ गतेसम्म क्यालिब्रेसन फ्लाइट गरेको थियो । ‘क्यालिब्रेसन फ्लाइट’ ले अन्तर्राष्ट्रिय उडानयोग्य प्रतिवेदन बुझाएको छ ।

ओबेरायले पोखरा विमानस्थलबाट विश्वभरका पर्यटक भित्र्याउन सहज हुने बताए । ‘मैले पोखरा विमानस्थल हेरें । विश्वभरबाट धेरै पर्यटक आउने सोचेको छु । अझ भारतबाट धेरै पर्यटक आउनेछन् यो विमानस्थल हुँदै पोखरा घुम्नलाई’, उनले भने ।

पोखरा साहसिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य रहेको उनको भनाई छ ।

पोखरा आएको पहिलो दिन भारतीय अभिनेता ओबेरायले जिपलाइन, बञ्जि, एटिभी र स्काइक्रिमरको मज्जा लिए । दोस्रो दिन हट एयर बेलुनसँगै फेरि एटिभी राइडको मज्जा लिएका उनी तेस्रो दिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे ।

‘पारिवारिक घुमघामको आनन्द लिन पोखरा उत्कृष्ट र सुन्दर गन्तव्य हो । नेपाल भारतको एक विस्तारित भूभाग लाग्यो’, अनुभव सुनाउदै ओबेरायले भने । नेपालीबाट निकै प्यार पाएको उनको भनाइ छ ।

नेपालीले गरेको अतिथि सत्कारले आनन्दित महसुस गरेको ओबेरायले प्रतिक्रिया दिए । ‘वास्तवमै यहाँको खाना, सुन्दर हिमाल र मान्छेहरुले आनन्दित बनायो । यति धेरै माया दिए यहाँका मान्छेले’, उनले भने ।

दैनिक मार्सी चामलको भात, मुस्ताङको दाल, रायोको साग र घ्यूको स्वाद लिइरहेको उनले जानकारी दिए । ‘नेपाली खान निकै स्वादिलो छ’, निकै प्रफुल्लित हुँदै उनले भने ।

११ सदस्यसहित पोखरा आइपुगेको उनको नेपाल भ्रमण पहिलो हो । उनी अझै दुई दिन पोखरा बस्नेछन् । सोमबार हेलिकोप्टरमार्फत मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिर पुग्नेछन् । त्यसपछि उनले अन्नपूर्ण बेस क्याम्प र पुनहिलसम्म जाने तालिका छ ।

पोखराको घुमघाम सकाएर ओबराय भैरहवा हुँदै गौतम बुद्धको भूमि लुम्बिनी दर्शनको लागि जानेछन् । गत बुधबार काठमाडौं ओर्लनेबित्तिकै पशुपतिनाथको दर्शन गरेका विवेक लन्चसहित घुम्न चन्द्रागिरि डाँडामा उक्लिएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेर समेत उनले भेटेका छन् । व्यवसायी पुनम यादवको पहलमा ओेबेराय नेपाल आएका हुन् ।

प्रकाशित मिति २०७९ पुस ३ गते आइतबार ०७:५४
हजुरको प्रतिक्रिया