पोखरा
१८ औं संस्करणको लेखनाथ महोत्सव बिहीबारदेखि सुरु हुँदैछ । महोत्सवको पनि महोत्सव दाबी गरिने लेखनाथ महोत्सवको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ । स्टल निर्माणसँगै सजावटको काम भइरहेको छ ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा तालचोकस्थित डाँडाकोनाकमा आयोजना गरिएको महोत्सव १८ गतेसम्म चल्नेछ । २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएकोमा तीन बर्षपछि लेखनाथ महोत्सवको पहिलो संस्करण भएको थियो । लेखनाथको पहिचान र चिनारीका लागि महोत्सवले भुमिका खेलेको महोत्सव मुल संयोजक छत्रधर आत्रेयले बताए । उनले अब महोत्सवको स्वरुप परिवर्र्तन गर्न आवश्यक रहेको बताउँदै भने, ‘महोत्सवको ट्रेन्ड परिवर्तन हुनुपर्ने आवश्यकता देखिएको छ । हामी पनि सच्चिदैछौं । यसपालि महोत्सव परिर्वतन भएको केही सांकेतिक परिदृश्य देखाउनेछौं ।’

महोत्सवमा २३७ स्टल रहनेछन् । पुराना प्रविधिबाट बनेका माटाका भाडा, बाँसको चोयाले बनेको डोको, परालको गुन्द्री, फलामका भाडावर्तन र दृष्टिविहिनले बनाएको अगरबत्तीका लागि निशुल्क स्टलको व्यवस्था गरिएको छ ।
२ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्न अनुमान गरेको प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए । उनका अनुसार १० करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य छ । ९५ लाख रुपैयाँ आम्दानी हुँदा १० लाख रुपैयाँ बचत गर्ने ओझाले बताए ।
महोत्सवले अर्थतन्त्र चलायमान बनाउने उने बताए । ‘कोरोना, रुस युक्रेन युद्ध लगायतका कारणले वित्तिय क्षेत्रमा देखा परेको तरलता अभाव र चर्को ब्याजले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउनेछ’, उनले भने ।
महोत्सवको पूर्व सन्ध्यामा सोमबार कवि शिरोमणि लेखनाथ पौडेलको सम्मानमा कविता वाचन गरिएको छ । पौडेलद्वारा सिर्जित १८ कविता १८ कविले वाचन गरेका थिए ।
प्रकाशित मिति २०७९ पुस ५ गते मंगलबार ०१:१८




