प्रतिष्ठान भन्छः माग जायज छैन
पोखरा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकीको प्रवेशद्धारमा नै कालो ब्यानर राखिएको छ । कालो ब्यानरमा सेतो अक्षरले लेखिएको छः यो निर्लज्ज मौनता कहिले सम्म ? अब कसको पालो कुर्दै हुनुहुन्छ ? एक चिकित्सक आफ्नो ड्यिुटीमा अस्ताई सक्दा नि यो राज्य टुलुटुलु के हेरेर बस्दै छ ? ब्यानरमा राखिएको फोटो डा किरण श्रेष्ठको हो ।
आवसीय डाक्टर (रेजिडेन्ट) रहेका श्रेष्ठको गत मंसिर २१ मा ड्यिुटीमा रहेको अवस्थामा मृत्यु भएको थियो । उनको मृत्युपछि अस्पतालमा रहेका रेजिडेन्ट डाक्टरहरु शान्तिपूर्ण विरोधमा उत्रिएका छन् । उनीहरुको मुख्य माग छः घटनाको अनुसन्धान हुनुपर्यो र काम गर्दा गर्दै मृत्यु भएका डाक्टरको परिवारको भविष्य सुरक्षित गर्न सहयोग गर्नुपर्यो ।
पाँचथर स्थायी घर भएका २७ वर्षीय रेजिडेन्ट डाक्टर श्रेष्ठ केही समयदेखि नै बिरामी थिए । बिरामी भएका समयमा नै ड्यिुटीमा खटिएका उनलाई असहज भएपछि अस्पताल नजिकै रहेको आफ्नो डेरामा पुगेका थिए । डेरामा पुगेका उनी अचेत अवस्थामा भेटेपछि आकस्मिक उपचारको क्रममा उनको असामायिक मृत्यु भएको थियो । श्रेष्ठ चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्तिमा एमएस प्रथम वर्षमा अध्ययनरत थिए ।
श्रेष्ठको मृत्युपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका ७६ रेजिडेन्ट डाक्टरहरुको समूह रेजिडेन्ट डक्टर्स वेल्फेअर सोसाइटी पोखराले १० वटा माग राख्दै शान्तिपुर्ण विरोधमा छन् । जस अन्तरगत २ वटा प्रमुख मागलाई अघि सारिएको सोसाइटीका अध्यक्ष हिमलाल भण्डारीले बताए । उनी भन्छन्, ‘हाम्रो पहिलो माग घटनाको अध्ययन गरि प्रष्ठिानमा बन्दै गरेको पुस्तकालयको नामकरण ‘डा किरण श्रेष्ठ स्मृति पुस्ताकलय’ गरियोस् र दोस्रो श्रेष्ठको परिवारको भविष्यलाई सुरक्षित गर्न राज्य एवं प्रतिष्ठानले राष्ट्र सेवक कर्मचारीसमानको सुविधा प्रदान गरियोस् भन्ने हो ।’ शान्तिपुर्ण विरोधसँगै प्रत्येक साँझ श्रेष्ठको सम्झनामा दीप प्रज्वलन पनि गरिएको थियो ।

अस्पतालमा गरिएको दीप प्रज्वलन
प्रतिष्ठानमा कार्यरत रेजिडेन्ट डाक्टर राजेन्द्र लामाले लगनशील डाक्टर श्रेष्ठ गुमाउनु अस्पताल, परिवारका लागि मात्र नभएर देशका लागि ठूलो क्षति भएको बताउँछन् । रेजिडेन्ट डाक्टर दृष्टि पौडेलले बिरामीको स्वास्थ्यको ख्याल गर्दा गर्दै आफैं स्वस्थ हुन नसक्दा डा श्रेष्ठले ज्यान गुमाउनु दुखद भएको बताइन् । डा पौडेलले अस्पतालमा रेजिडेन्ट डाक्टरहरुको समस्या जटिल रहेको जिकिर गरिन् । एक डाक्टरले आवसीय डाक्टरहरुको लागि अस्पतालमा नै आवासको व्यवस्था नहुनुले पनि डा किरण श्रेष्ठले उपचार छिट्टो पाउन नसकेको बताउँछन् । उनी भन्छन्, ‘रेजिडेन्ट डाक्टरहरु नाम मात्रको रेजिडेन्ट छौं । हामी बाहिर डेरा गरि बस्छौ । किरण श्रेष्ठ अस्पतालबाट भित्रै भएको भए अहिले अवस्था केही फरक हुन्थ्यो कि?’ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन वर्षअघि चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलको स्वीकृति लिएर एमडी एमएस शिक्षण सुरु गरेको थियो । रेजिडेन्ट डाक्टरका लागि अस्पतालमा नै आवसीय व्यवस्था हुनुपर्ने भएपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले व्यवस्था गर्न सकेको छैन ।

प्रतिष्ठानमा कार्यरत रेजिडेन्ट डाक्टरहरु
रेजिडेन्ट डा. कुमार श्रेष्ठले रेजिडेन्सीमा रहेका डाक्टरहरुको सामाजिक सुरक्षाको समस्या थुप्रै रहेको बताए । उनले बिमा कार्यक्रम भएपनि त्यसको अनुगमन नहुनु, सबै कलेजमा पाउने तलब एकै नहुनुलगायतका समस्याले डाक्टरहरु तनावपूर्ण अवस्थामा रहनुपर्ने बाध्यता रहेको बताए । अस्पतालमा कार्यरत रेजिडेन्ट डा प्रज्ञा शाक्यले ड्यिुटीमा रहेको अवस्थामा मृत्यु भएका डाक्टरका लागि अस्पताल तथा राष्ट्रले केही सहयोग गरे परिवारका लागि राहत हुने बताइन् । उनले भनिन्, ‘डा श्रेष्ठ मात्र नभएर जोकोही रेजिडेन्ट डाक्टरलाई पनि यो पर्न सक्छ । डाक्टरका सामाजिक सुरक्षाको व्यवस्था होस् भनेर हामीले आवाज उठाएका हौं ।’
रेजिडेन्ट डाक्टरहरुले ड्यूटीको समयमा पनि बढी भएको बताउँदै आएका छन् । उनीहरुले एउटा डाक्टरले हप्तामा सय घण्टा काम गरेको रेकर्ड समेत रहेको गुनासो गरेका छन् । रेजिडेन्ट डाक्टरलाई मानसिक, शारीरिक र सामाजिक रुपमा तनावपूर्ण अवस्थाबाट गुज्रनुपरेतापनि आफ्नो मुल्यांङ्कन गर्ने जिम्मेवारी सिनियर डाक्टर तथा अस्पताल प्रशासनमा हुने भएकाले खुलेर बोल्न सक्ने अवस्था नरहेको बताउँदै आएका छन् ।
माग जायज छैनन, नीतिगत तहमा पैरवी गर्न सक्छौः निर्देशक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले डा. किरण श्रेष्ठका लागि रेजिडेन्ट डाक्टरले उठाएको माग जायज नभएको बताए । उनले १० मध्येका ८ वटा माग पहिल्यै पुरा भइसकेको र दुई वटा माग पुरा गर्न नसकिने बताए । उनले भने, ‘पुस्ताकलयको नाम डा. किरण श्रेष्ठको नाममा राखिने कुराको अरु डाक्टरहरुले लिखितरुपमा नै विरोध गरिसकेको अवस्था छ । यसरी नाम राखिने प्रवृत्ति राम्रो होइन । अर्को माग सामाजिक सुरक्षा हामी सबै डाक्टरहरुको अवस्था त्यहि नै हो । यो अस्पतालबाट भन्दा प्रतिष्ठान र राज्यको तर्फबाट नै नितिगत रुपमा नै आउनुपर्छ । यसका लागि पैरवी भन्ने गर्नुपर्छ । ’ उनले कामको समयवधिका विषयमा पनि पहिलेभन्दा धेरै सहज रहेको बताएका छन् । उनले अन्तर्राष्ट्रियस्तरमा प्रचलित कामको अभ्यास नेपालमा रहेकाले ड्यिुटी आवर धेरै भयो भन्न नमिल्ने जिकिर गरेका छन् ।
समस्या छन् स्वीकार्छौ, सुधारको प्रयास भइरहेको छ: उपकुलपति
प्रतिष्ठानका उपकुलपति डुक बहादुर क्षेत्री रेजिडेन्ट डाक्टरका लागि आवश्यक भौतिक पुर्वाधारको कमी भइरहेको स्वीकार्छन् । उनले पर्याप्त रुपमा लाइब्रेरी, कक्षाकोठा, आवासको व्यवस्था हुन नसक्दा समस्या भइरहेको उनले बताए । उपकुलपति क्षेत्रीले यसको सुधारका लागि ठूलो रकम विनियोजन गर्नुपर्ने आवश्यक रहेको हुँदा यसको पहल भइरहेको पनि दाबी गरे । उनले भने, ‘ समस्या छन् र त्यसैका लागि नै पोखरा सिम्पानीमा प्रतिष्ठानको नाममा रहेको जग्गामा नै काम गर्ने योजना बनाइरहेका छौं ।’
उनले नेपालमा रेजिडेन्ट डाक्टरको कार्य समयबारे नीति नभएपनि अन्तर्राष्ट्रिय स्तरको पछ्याइरहेको बताए । उपकुलपति क्षेत्रीले रेजिडेन्ट डाक्टरहरुका लागि यो समय सिक्ने भएकाले काम गर्नुपर्ने बताए । उनले भने, ‘अहिले रेजिडेन्ट डाक्टरहरुलाई प्रचलित नियमअनुसार हप्ताको ८० घण्टा नै काम गरेका छन् । अब यो पनि धेरै भयो भन्छन् भने केही नगरी सर्टिफिकेट हातमा दिए भो । उहाँहरुले अहिले झन् सिक्ने हो । काम गर्ने हो अहिले काम गर्नुभएन पनि कसरी सिक्नुहुन्छ ?’
प्रकाशित मिति २०७९ पुस ५ गते मंगलबार ०५:३६




