पोखरा
पोखराको फेवाताल किनारमा आजदेखि नेपाल लिटरेचर फेस्टिभल सुरु हुँदैछ । आज साँझबाट सुरु हुने फेस्टिभल ५ दिनसम्म चल्ने छ । नेपाल लिटरेचर फेस्टिभलको यो दशौं संस्करण हो ।
फेस्टिभलमा कला, साहित्य, संगीत, राजनीति, अर्थतन्त्र, खेलकुद लगायत विविध विषयमा बहस र अन्तरसम्वाद हुने आयोजक बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ । बुकवर्मका अनुसार पचास बढी सत्रमा सम्बन्धित क्षेत्रका विषय विज्ञ र विद्धत व्यक्ति वक्ताका रुपमा सहभागी हुने छन् ।
फेस्टिभलमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डाक्टर भगवान कोइराला लगायत देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, संगीतकर्मी गरी दुई सय बढीको सहभागी हुनेछन् ।
‘शब्द शक्ति उत्सवको एक दशक’ नारासहित हुन लागेको फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणतिलका, पत्रकार लेखक अक्षक मुकुल, सुकेतु मेहता, करिम खान, श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय लेखक सहभागी हुनेछन् ।
पहिलो दिन पुस ६ गते शुभारम्भ साँझमा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुति रहने आयोजकले जनाएको छ । दोस्रो दिनमा काठमाडौं विश्वविद्यालयका प्राध्यापक अर्धशास्त्री अच्युत वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा विद्वत् प्रवचन दिने तालिका छ ।
तालको सहर, हिमालमुनिको सहरका विभिन्न विशेषताले चिनिरहेको पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभलले सहयोग पुग्ने आयोजकको दाबी छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको फेस्टिभलमा सहआयोजना रहेको छ ।
प्रकाशित मिति २०७९ पुस ६ गते बुधबार ०९:११




