२०८३ असोज २३ गते शुक्रबार

सहमति पछि गण्डकी अस्पतालका रेजिडेन्ट डाक्टरहरूको विरोध कार्यक्रम स्थगित

सहमति पछि गण्डकी अस्पतालका रेजिडेन्ट डाक्टरहरूको विरोध कार्यक्रम स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ७ गते बिहीबार ०४:२१

जसमा सहमति पछि अब सर्जरी विभागमा सुविधा सम्पन्न ‘डा किरण श्रेष्ठ स्मृति पुस्ताकलय’ बनाउने र हरेक वर्ष डाक्टर किरणको सम्झनामा ‘मेमोरियल बेस्ट रेजिडेन्ट अवार्ड’ को स्थापना गर्ने निर्णय भएको प्रतिष्ठानमा रहेको रेजिडेन्ट डक्टर्स वेल्फेअर सोसाइटी अध्यक्ष हिमलाल भण्डारीले जानकारी दिए । 

सर्जरी विभागमा नै ‘डा किरण श्रेष्ठ स्मृति पुस्तकालय’ बन्ने

पोखरा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा प्रतिकात्मक विरोधमा रहेका रेजिडेन्ट डाक्टरहरूको प्रशासनसँग सहमति भएको छ । आवसीय डाक्टर (रेजिडेन्ट) रहेका श्रेष्ठको गत मंसिर २१ मा ड्यिुटीमा रहेको अवस्थामा मृत्यु भएको थियो । उनको मृत्युपछि अस्पतालमा रहेका रेजिडेन्ट डाक्टरहरूले विभिन्न १० बुंदे माग राख्दै विरोधमा उत्रिएका थिए । प्रतिष्ठानमा कालो ब्यानर राखेर विरोधमा उत्रिएका उनीहरुले  राखेका मागहरु सर्तसहित पुरा हुने भएपछि विरोध कार्यक्रम स्थगित गरेका हुन् ।

प्रतिष्ठानमा बन्दै गरेको पुस्तकालयको नाम डा किरण श्रेष्ठको स्मृतिमा राखिनुपर्ने रेजिडेन्ट डाक्टरहरुको मागलाई अस्पतालले पुरा गर्न नसक्ने बताएको थियो । जसमा सहमति पछि अब सर्जरी विभागमा सुविधा सम्पन्न ‘डा किरण श्रेष्ठ स्मृति पुस्ताकलय’ बनाउने र हरेक वर्ष डाक्टर किरणको सम्झनामा ‘मेमोरियल बेस्ट रेजिडेन्ट अवार्ड’ को स्थापना गर्ने निर्णय भएको प्रतिष्ठानमा रहेको रेजिडेन्ट डक्टर्स वेल्फेअर सोसाइटी अध्यक्ष हिमलाल भण्डारीले जानकारी दिए ।

यस्तै रेजिडेन्ट डाक्टर र स्वास्थ्यकर्मीको भविष्यमा हुन सक्ने आकस्मिक दुर्घटनालाई सम्बोधन गर्न विद्यार्थी र कर्मचारीको छुट्टाछुट्टै कल्याणकारी कोष बनाउने प्रशासनसंग सहमति भएको छ । आवासविहीन रहेका रेजिडेन्ट डाक्टहरूका लागि आगामी आर्थिक वर्षमै बजेटका लागि पहल गरिने सम्झौता भएको छ । यसअघि नै प्रतिष्ठानका उपकुलपति डुकबहादुर क्षेत्रीले पनि आवास निर्माणका लागि भारी रकम खर्च हुने भएकाले बजेट विनियोजनका पहल गर्ने बताउँदै आएका थिए ।

सहमति अन्तरगत क्यान्टिनमा सबै स्वास्थ्यकर्मीहरूलाई १० प्रतिशत छुट, नागरिक बडापत्रको व्यवस्था र दर रेट र गुणस्तर अनुगमन गर्न रेजिडेन्ट डाक्टर सम्मिलत समिति बनाउने र सोहि समितिको सिफारिस अनुसार अगाडि बढ्ने सहमति भएको अध्यक्ष भण्डारीले बताए । यस्तै रेजिडेन्ट डाक्टरको सामाजिक सुरक्षाको मुद्दामा प्रतिष्ठानले सम्बन्धित निकायहरूमा पत्राचार गर्ने सम्झौतापछि हाललाई विरोधका कार्यक्रम स्थगित भएको हो ।

पाँचथर स्थायी घर भएका २७ वर्षीय रेजिडेन्ट डाक्टर श्रेष्ठ केही समयदेखि नै बिरामी थिए । बिरामी भएका समयमा नै ड्यिुटीमा खटिएका उनलाई असहज भएपछि अस्पताल नजिकै रहेको आफ्नो डेरामा पुगेका थिए । डेरामा पुगेका उनी अचेत अवस्थामा भेटेपछि आकस्मिक उपचारको क्रममा उनको असामायिक मृत्यु भएको थियो । श्रेष्ठ चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्तिमा एमएस प्रथम वर्षमा अध्ययनरत थिए । श्रेष्ठको मृत्युपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका ७६ रेजिडेन्ट डाक्टरहरुको समूह रेजिडेन्ट डक्टर्स वेल्फेअर सोसाइटी पोखरा विरोधमा उत्रिएका थिए ।

प्रकाशित मिति २०७९ पुस ७ गते बिहीबार ०४:२१
हजुरको प्रतिक्रिया