२०८३ साउन २१ गते बिहीबार

साइकल मर्मतमा पोखराका शेर !

साइकल मर्मतमा पोखराका शेर !

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ पुस ९ गते शनिबार ०८:५४

शेरबहादुरकहाँ आजकाल पुरानादेखि नयाँ ग्राहक साइकल मर्मत गर्नलाई आउँछन् । ७३ बर्षको उमेरमा उनी साइकल बनाइरहेका भेटिन्छन् । कपाल फुलेका छन् । आँखा उमेर छदाको बेला जस्तो तेजिलो देख्दैनन् । हातखुट्टाले वैंशको बेलामा जस्तो भर दिँदैन । तर पनि शेरबहादुर यो पेशाबाट विश्राम लिन चाहदैनन् ।

पोखरा

पोखरामा मोटरसाइकल चढ्नेहरु औँलामा गन्न सकिन्थ्यो । त्यतिबेला पूर्ण शाक्य र शेरबहादुर तामाङ मिलेर नयाँ दुई मोटरसाइकल भित्र्याए। राजदूत कम्पनीका ग १ र ग २ मोटरसाइकल ल्याएर भाडामा चढ्ने व्यवस्था मिलाएको थियो शाक्य र तामाङले चलाएको मोटरसाइकल वर्कसपले ।

२०३४ सालमा नालामुखमा साझेदारीमा सुरु गरेको वर्कसपले नाफाको गति लिएन । ‘मोटरसाइकल भाडामा लिएर जानेले कहिले दमौलीमा मान्छे हान्दिने त कहिले कहाँ लगेर पल्टाइदिने । घाटा भयो’, शेरबहादुरले शुक्रबार दिउँसो व्यावसायको सुरुवाती दिनलाई सम्झदै सुनाए । घाटाको व्यापारले शेरबहादुर र पूर्णको सहयात्रा दुई बर्षमै टुंगियो ।

सिकर्मीको काम छाडेर मोटरसाइकल वर्कसप चलाउन थालेका उनले त्यो दुई बर्षमा मर्मतको काम पूर्णबाट सिकेका थिए । उनलाई साइकल पनि मर्मत गर्न सक्छु भन्ने आँट थियो । पाटर्नरसिप टुटेपछि उनले फेरि वर्कसप खोल्नलाइ मन लगाएनन् । उनको दिल र दिमागले साइकल पसल खोल्न सुझायो । त्यसपछि सुरु गरे मोटरसाइकल वर्कसप हटाएर शेर साइकल सप । जतिबेला पोखरामा केही साइकल सप भने खुलिसकेका थिए ।

५ हजार रुपैयाँ लगानी गरेर साइकल सप खोलेको उनी सम्झन्छन् । १५० रुपैयाँ मूल्य पर्ने १० वटा साइकल भैरहवा हुँदै पोखरा ल्याएको उनले बताए । बेच्न नभइ भाडामा चलाउन दिनलाई साइकल ल्याएका थिए उनले । घण्टाको ५० पैसामा साइकल भाडामा दिने गरेको शेरबहादुरले सुनाए । ‘एउटा साइकल भाडामा लगाएर दिनमै ४ रुपैयाँ ५ रुपैयाँसम्म कमाई हुन्थ्यो’, उनले भने । उनका अनुुसार त्यतिबेला ५ रुपैयाँले सपरिवारलाई खान पुग्ने थियो । भाडामा दिएका आफ्नै साइकल बिग्रिएपछि आफैंले मर्मतको काम गर्थे । ‘भाडामा दिएपछि यता लडाउने उता लडाउने गरेर धेरै बिग्रिन्थ्यो । आफ्नै साइकल बनाइन्थ्यो । ५-७ बर्षपछि बल्ल चालु हुन लायो । बाहिरको काम पनि आउन थाल्यो’, उनले भने ।

विस्तारै साइकल चढ्नेहरु पोखरामा बढ्न थाले । विद्यार्थी, जागिरे धेरैको यात्रामा सारथी साइकल थियो । साइकल पसल उनलाई फाप्यो । साइकल मर्मतका लागि उनी पोखराका नामी कहलिए । कहीं कसैले बनाउन नसकेको साइकल आफुकहाँ बनाउन पठाउने गरेको उनी बताउँछन् । मर्मतको काम धेरै आएपछि साइकल भाडामा दिन छाडेको उनले बताए ।साइकल भाडामा दिदैँ सुरु गरेको साइकल सपले मर्मत हुँदै साइकल बेच्नपनि थाल्यो । काम राम्रो आउन थालेपछि उनले नाम र दुवै कमाए । ‘साइकल पसल राम्रो चल्यो । पाँचवटा छोराछोरी यहीं पेशाले हुर्काए, बढाए, पढाए’, उनी सन्तुष्ट आवाजमा सुनिन्छन् । शेरबहादुरका अनुुसार पहिला धेरै काम आएको दिनमा ८ सय रुपैयाँसम्म कमाइ हुन्थ्यो । त्यो कमाइ अहिले सयबाट बढेर हजार रुपैयाँमा पुगेको छ ।

उनले पोखरामा हिरो, एवान, एटलस्ट, भिमेक्स लगायतका साइकल भित्राएका हुन् । नयाँ नयाँ ब्राण्ड र डिजाइनमा साइकल आउन थालेपछि उनले आजकाल मर्मत मात्रै गर्छन् । ४५ वर्षदेखि शेरबहादुरको पेशा उही साइकल बनाउने छ । नालामुखस्थित ललितकुमार बटाजुको घरमा राखेको उनको साइकल पसल अन्त सरेको छैन । साइकल सप सुरु गर्दा ६० रुपैयाँ भाडा तिर्ने उनले अहिले ५ हजार रुपैयाँ तिर्छन् । घरपयाक पर्ने, घरभाडा सस्तो भएकाले साइकल सप अन्त सार्न नचाहेको उनले बताए । अहिले त यो घरसँग उनको छुट्टै आत्मियता छ । किनकी यहीं घरमा चलाएको पसलले उनको घरव्यवहार चलाइदियो ।

 

शेरबहादुरकहाँ आजकाल पुरानादेखि नयाँ ग्राहक साइकल मर्मत गर्नलाई आउँछन् । ७३ बर्षको उमेरमा उनी साइकल बनाइरहेका भेटिन्छन् । कपाल फुलेका छन् । आँखा उमेर छदाको बेला जस्तो तेजिलो देख्दैनन् । हातखुट्टाले वैंशको बेलामा जस्तो भर दिँदैन । तर पनि शेरबहादुर यो पेशाबाट विश्राम लिन चाहदैनन् । भन्छन्, ‘हात खुट्टाले काम गुरुञ्जेल यहीं काम गर्छु । जानेकै यहीं साइकल बनाउन हो अरु के गर्ने रु का गरेछु र पो दिन काट्न सजिलो भा’छ । चाहे मलाई दुई पैसा होस् नहोस् अब मलाई केही पनि चाहिदैन् । सकेसम्म गर्छु।’ साइकलको काम गर्दा फुर्तिलो हुने उनले सुनाए ।

 

प्रकाशित मिति २०७९ पुस ९ गते शनिबार ०८:५४
हजुरको प्रतिक्रिया