२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा कांग्रेसले मंगलबार दलको नेता चुन्ने

गण्डकीमा कांग्रेसले मंगलबार दलको नेता चुन्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ९ गते शनिबार १२:०२

संसदीय दलको नेता बन्नलाई संस्थापन र इतर समुहका २\२ जना दाबेदार छन् ।

पोखरा

गण्डकी प्रदेशमा निर्वाचित सांसद मध्ये ज्येष्ठ सदस्य ६५ वर्षीय मित्रलाल बस्यालले पुस १३ गते सपथ ग्रहण गर्नेछन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ ग्रहण गराउनेछन् ।

प्रदेश प्रमुखले पर्वत (ख) बाट चुनाव जितेका बस्याललाई प्रदेश प्रमुखको निवासमा शपथग्रहण गराउनेछन् । अरू सदस्यलाई बस्यालले पुस १४ गते शपथ खुवाउनेछन् ।

सांसदको सपथग्रहण अगावै नेपाली कांग्रेसले संसदीय दलको नेता चुन्ने भएको छ । आगामी मंगलबार कांग्रेसले संसदीय दलको नेता चुन्नेछ । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको शुक्रबारको बैठकले संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

प्रदेश कार्यसमितका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा सहमहामन्त्रीद्वय कोपिला रानाभाट र रमेश पाण्डे सदस्य रहेको निर्वाचन समिति बनाईएको छ । दुइ भन्दा बढी संसदीय दलको नेता बन्न इच्छुक भएमा निर्वाचन हुने प्रदेश कार्यसमितका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले बताए ।

गण्डकीमा संस्थापन पक्षबाट संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे दाबेदार छन् । गोरखा २ (ख) बाट निर्वाचित देउवा निकट उनले राष्ट्रियसभाको अनुभव पनि बटुलेका छन् । मुख्यमन्त्रीको आश्वासन पाएकाले पाण्डे प्रदेश झरेको बताइन्छ । उनलाई चुनाव अगाडीका घरदैलो र आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकीको मुख्यमन्त्री बनाउने वचन दिँदै हिडेका थिए । तर, संस्थापन पक्षकै विन्दुकुमार थापाले पनि संसदीय दलको नेता बनेर मुख्यमन्त्री हुने इच्छा देखाएका छन् । कास्की २ (ख) बाट निर्वाचित थापा गण्डकीका बहालवाला कानूनमन्त्रीसमेत हुन् ।

संस्थापन इतर समुहबाट स्याङजा २ (क) मा निर्वाचित भोजराज अर्याल र नवलपुर १ (क) बाट निर्वाचित महेन्द्रध्वज जिसीले संसदीय दलको नेता बन्नलाई दाबी गरेका छन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । १८ सिट प्रत्यक्ष जितेको कांग्रेसले समानुपातिकमा ९ सिट पाएको हो । कांग्रेसका संस्थापन समुहका १४ र इतर समुहबाट १३ सांसद गण्डकी प्रदेश सभामा छन् ।

संसदीय दलको नेता चयनका लागि सहजीकरण गर्न प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, गण्डकी प्रदेश कार्यसमितका महामन्त्री किरणबावु श्रेष्ठ र सहमहामन्त्री रामचन्द्र जोशी कमिटीमा सदस्य रहेका छन् ।

प्रकाशित मिति २०७९ पुस ९ गते शनिबार १२:०२

हजुरको प्रतिक्रिया