नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको ४४ औं प्रधानमन्त्री बनेका छन् । सत्ता गठबन्धन भत्किए लगत्तै बनेकाे नयाँ समिकरणले दाहाललाई तेस्राे पटक प्रधानमन्त्री बन्ने बाटाे खुलेकाे हाे । ७ दल र १७० सांसदकाे समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।
सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति ताेडेकाे प्रचण्डकाे आराेप छ । यसअघि देउवा र प्रचण्ड आलाेपालाे प्रधानमन्त्री हुने सहमति भएपनि अन्तिम समयमा आएर साे सहमति कांग्रेसले पालना नगर्दा नयाँ समिकरणकाे खेल शुरू भएकाे थियाे । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेस अन्ततः प्रतिपक्षमा बस्ने भएको छ । आइतबार एकाएक बनेकाे नयाँ समिकरणले कांग्रेसले संघमा मात्र नभई सात वटै प्रदेशमा पनि सत्ता बाहिर बस्नुपर्ने अवस्था निम्तिएको छ ।
यस्ताे छ सात प्रदेशकाे अवस्था !
प्रदेश १
प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सांसद छन् । नयाँ समिकरणमा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा समेत संगै रहेकाेले यहाँ कांग्रेसले सरकार गठन गर्ने सम्भावनाकाे अन्त्य भएकाे छ । प्रदेश १ मा यो गठबन्धनले सहजै सरकार गठन गर्न सक्ने देखिन्छ ।
मधेस प्रदेश
मधेस प्रदेशमा १०७ सदस्यीय सांसद छन् । जहाँ सरकार गठनकाे बहुमतका लागि कम्तीमा ५४ सांसद आवश्यक हुन्छ । मधेस प्रदेशसभामा एमालेको २३, जनमत पार्टीको १३, जसपा नेपालको १६, माओवादी केन्द्रको ८ राप्रपाको १ सांसद छन् । यी सवै एकैठाउँ हुँदा ६१ सांसद पुग्छन् । जसले गर्दा मधेस प्रदेश पनि कांग्रेसले गुमाउने छ ।
बागमती प्रदेश
११० सदस्यीय बागमती प्रदेशमा पनि एमालेसहितको गठबन्धनको सहजै बहुमत पुग्ने देखिन्छ । यो प्रदेशमा सामान्य बहुमतका लागि कम्तीमा ५६ सांसद आवश्यक हुन्छ । यहाँ एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३ सांसद छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा ६० सदस्यीय संसद छ । बहुमतका लागि कम्तीमा ३१ सांसद आवश्यक पर्दछ । गण्डकी प्रदेशसभामा एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ सांसद छन् । त्यसैले यो गठबन्धनको सहजै बहुमत जुट्ने देखिन्छ । यी सवै एकैठाउँ हुँदा पुग्ने ३२ सांसद कांग्रेसलाइ सरकार बाहिर राख्न पर्याप्त हुनेछन् ।
लुम्बिनी प्रदेश
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसद आवश्यक हुन्छ । यो प्रदेशमा एमालेको २९, माओवादी केन्द्रको ९, जसपाको ३, राप्रपाको ४, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टीको ३ सांसद छन् । याे प्रदेशमा नयाँ गठबन्धनले सहज सरकार गठन गर्नेछ ।
कर्णाली प्रदेश
४० सदस्यीय कर्णाली प्रदेशमा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । यो प्रदेशमा एमालेका १०, माओवादी केन्द्रका १३, राप्रपाका एक सांसद छन् ।
सुदूरपश्चिम प्रदेश
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा २७ सांसद आवश्यक हुन्छ । यो प्रदेशमा एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाको एक सांसद छन् । यही गठबन्धन कायम रहेमा यो प्रदेशमा पनि सहजै सरकार बन्न सक्छ ।
प्रकाशित मिति २०७९ पुस १० गते आइतबार ०६:५२




