पोखरा
पुसको कठ्याङग्रिदो चिसो, फेवा किनारमा चलिरहने सिरेटो । नेपाल लिटरेचर महोत्सवको अन्तिम साँझ सोमबार उज्यालोलाई अध्याँरोले जित्दै गर्दा पनि साहित्य अनुरागीको जमघट कम थिएन । चिसो सिरेटोमा पनि गजल महफिलमा तात्न प्रतिक्षारत धेरै थिए ।
साढे ६ बजेको आसपास उद्घोषकले गजलको शेरबाट झंकृत बनाउन गलजकार प्रदिप रोदनलाई मञ्चमा निम्त्याए । रोदन मञ्च उक्लिएसँगै उनका फ्यानहरुले चिच्याउदै स्वागत गरे । रोदनले गजलको शेर विछ्याँउदै अभिनन्दन टक्रयाए ।
‘कहिलेकाहीं यसरी पनि रहर पुग्छ
एक प्रेमी सपनामा प्रेमिकाको घर पुग्छ…’
उनको गजल सुरु भएसँगै यत्रतत्र छरिएका दर्शक भूपि कक्षमा एकीकृत हुन थाले । रोदनले आधा घण्टासम्म गजल महिफिल जमाए । चिसो सिरेटोलाई गर्माए । उनले करिब आधा दर्जन गजल सुनाए । बेलाबखत दर्शकबाट ‘वान्स मोर’ गुञ्जिन्थ्यो । उनी महफिलको बिट मार्न चाहान्थे, दर्शक थप गजल सुन्न आतुर । चोटिला गजलले कहिले व्यवस्थाप्रति प्रहार गरे त कहिले नागरिकको अवस्था उजागर गरे । धेरै जसो उनी मायाप्रेममा सुनिए ।
‘मलाई लगेर गाडिदिनुस, जिम्मा माटोलाई दिनुस
यो उनी बसेको छाती हो आगो नलगाइदिनुस…’
यिनै शेरसँगै रोदनले महफिलको बिट मारे । रोदन महफिलसँगै पोखराको बाराहीघाटमा सुरु भएको १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिबल सकिएको छ । पुस ५ गते साँझ कवि नवराज पराजुली र गायक उज्वल प्रसाँई गुञ्जिएसँगै फेस्टिबल आरम्भ भएको थियो । पुस ६ गते औपचारिक उद्घाटन गरिएको हो ।
फेस्टिबलको समापनमा बोल्दै पोखरेली उद्यमी निरञ्जन श्रेष्ठले हप्ता दिन राजधानी पोखरामा सरेको अनुभूति गरेको बताए । फेस्टिबलले पोखरालाई साहित्यिक, साँस्कृतिक, बौद्धिक पर्यायको रुपमा उभ्याएको उनको भनाई छ । ‘यो फेस्टिबललाई कसरी दिघो बनाउने चूनौती खड्किएको छ । कसरी पोखरामा साहित्यको शसक्त खम्बा बन्न सक्छ भन्ने हो’, उनले भने ।
कवि तिर्थ श्रेष्ठले पोखरामा साहित्यिक महोत्सव नसोचेको भएको बताए । ‘यो लेखनाथको जन्मभूमि । भूपिले क्रिडा गरेको स्थल । धर्मराजले मलजल गरेको अलिमियाँले आफूलाई उभ्याएको थलोमा यत्तिको अवस्थामा पुग्छ भन्ने विश्वास थिएन’, उनले भने । उनले लिटरेचर फेस्टिबलमा विविध विषय किन भनेर प्रश्न उठ्नु गलत भएको बताए ।
सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको प्रांगणमा सुरु भएको थियो नेपाल लिटरेचर फेस्टिभलको पहिलो संस्करण । पाँचौ संस्करणदेखि पोखरामा हुँदै आइरहेको छ ।
‘शब्द शक्ति उत्सवको एक दशक’ नारासहित भएको फेस्टिबलमा देश विदेशका करिब २ सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादकलगायतको उपस्थिति रह्यो । ५० भन्दा बढी सेसन र सांगीतिक साँझ भए ।फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह–प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवं फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्ति सहभागि भए ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, घनश्याम भुषाल, मिनेन्द्र रिजाल, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवं लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, बुद्धिसागर, सुबिन भट्टराई, संगीतकर्मी रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका झुमा लिम्बूलगायतको उपस्थिती रह्यो । गोपाल योञ्जन देहासनको २५ वर्ष पुगेको सन्दर्भमा उनको स्मृतिमा ‘गोपालय’ समेत आयोजना गरिएको थियो ।
बुकवर्म फाउन्डेसनले आयोजना गरेको नेपाल लिटरेचर फेस्बिटलको सहआयोजक गण्डकी प्रज्ञा–प्रतिष्ठान हो । फेस्टिभलको प्रवद्र्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा–प्रतिष्ठान थिए ।
प्रकाशित मिति २०७९ पुस १२ गते मंगलबार १०:३१




