प्रदेशमा ज्यान गुमाउनेकाे संख्या ४५ पुग्यो, ५ हजार १ सय ३१ कुल संक्रमित
पोखरा । बुधबार कोरोना भाइरसको संक्रमणका कारण पोखरामा १ जनासहित गण्डकी प्रदेशमा थप ४ जनाकाे ज्यान गएको छ । पोखरामा उपचाररत स्याङ्जाका एक महिलासहित गण्डकी प्रदेशमा थप ४ जनाको ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर २ घर भएकी ५२ वर्षीय महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कोरोनाबाट आज बिहान ९ बजेर ३४ मिनेट जाँदा ज्यान गएको हो । उनलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै, तनहुँ जिल्ला, भिमाद-६ का ७२ बर्षीय पुरुषको चितवन मेडिकल कलेज, चितवनमा, भिमाद-६ का ७५ बर्षीय पुरुषको बि. एण्ड बि.अस्पताल, काठमाडौँमा गत २४ गते र भिमाद -६ कै ९८ बर्षीय पुरुषको मेडिसिटी अस्पताल, काठमाडौँमा २५ गते गरि ४ जना कोरोना संक्रमितहरुको दुखद निधन भएको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
यस्तै बुधबार पोखराका १ जना सवारी चालकसहित ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित २ जना पोखराको फेवासिटिमा उपचाररत विरामी रहेको निर्देशनालयले उल्लेख गरेकाे छ । गोरखामा १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बर्दघाट सुस्तापूर्ब नवलपरासीका ६ जना, तनहुँका २ जना, स्याङ्जा, पर्वत र लमजुङ्का एकएक जना संक्रमित बनेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार १ सय ३१ पुगेको छ ।





