पोखरा । दुई मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएको स्पेनिस टिम कासेरेन्योले बुधबार पोखरा रंगशालामा गण्डकी–११ सँग खेल्दै छ ।
नेपाली र स्पेनिस आबद्ध लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा स्पेनको बी डिभिजन क्लबमध्येको राम्रो मानिने टिम कासेरेन्यो नेपाल आएको हो । स्पेनिस क्लब बार्सिलोना र रियाल मड्रिडका पूर्वखेलाडी रुबेन डे ला रेड र युलियो सालिनाससहितको स्पेनिस टोली मंगलबार पोखरा आइपुगेको छ । कोपा डेल रेअन्तर्गत रियल मड्रिडसँग आगामी जनवरी ३ मा हुने खेलको तयारी स्वरुप यो स्पेनिस टिम मंगलबार नै नेपाल आएको हो ।
पोखरा रंगशालामा बुधबार दिउँसो २ बजे गण्डकी ११ र कासेरेन्यो फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमा गण्डकी–११ मैदानमा उत्रने छ ।
नेपालको पर्यटनलाई फुटबलमार्फत प्रवर्द्धन गर्ने उद्देश्यसहित आफूहरु नेपाल आएको फाउण्डेसनका अध्यक्ष जोसे म्यानुयलले मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताए । ‘हामी पर्यटनलाई फुटबलमार्फत प्रर्वद्धन गर्न खोजेका छौँ । नेपालको फुटबल व्यवस्थित हुँदैछ । लुम्बिनी गार्डनको उद्देश्य भनेको बुद्धको शान्ति सन्देशलाई प्रवर्द्धन गर्नु हो । यो फुटबलमार्फत गर्दै छौँ,’ उनले भने ।
गण्डकी–११ का प्रशिक्षक राजेन्द्र तामाङले ठूलो टिम आउनु खुसीको कुरा भएको बताए । उनले आफूहरुले आत्मबल बलियो बनाएर मैदानमा उत्रने सुनाए । ‘यत्रो ठूलो टिम आउनु नै खुसीको कुरा हो,’ उनले भने, ‘स्पेनको राम्रो क्लब आएको छ तर मनस्थितिबाट हार हुँदैन । आत्मबल बलियो बनाएर खेल्छौँ । हामीले लोकल खेलाडीलाई नै समावेश गरेका छौँ ।’
कासेरेन्योले बिहीबार काठमाडौँ–११ सँग खेल्ने छ । काठमाडौं ११ को टिम राष्ट्रिय टोलीका अर्का पूर्व कप्तान विराज महर्जनको नेतृत्वमा रहने छ । काठमाडौं टोलीको प्रशिक्षक मेघराज केसी छन् ।
प्रकाशित मिति २०७९ पुस १२ गते मंगलबार ०६:५७




