पोखरा
गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारीले आफूलाई समय र परिस्थितिले काँधमा मुख्यमन्त्रीको जिम्मेवारी दिन लागेको बताएका छन् । मुख्यमन्त्री बन्नका लागि साझेदार दल नेकपा माओवादी र राप्रपासँग संवाद र छलफल पनि अगाडि बढाइएको अधिकारीले बताए ।
संघमा माओवाी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले राजी भएसँगै खगराज पनि मुख्यमन्त्री बन्ने सम्भावनाको ढोका खुलेको छ । नत्र २२ सदस्य रहेको ६० सदस्यीय प्रदेश सभामा एमाले नेतृत्वको सरकार बन्ने सम्भावना थिएन ।
‘मलाई एमाले संसदीय दलको नेता बनाउनुभएको छ । म बन्नु र साझेदारको कुनै साथी बन्नुमा मैले खासै फरक देख्दिन,’ पब्लिक टिभीसँग कुराकानी गर्दै खगराजले भने, ‘समयले एक पटक जिम्मेवारी मेरो काँधमा दिने देखिएको छ । गण्डकीमा सरकार कस्तो बन्छ, कस्को बन्छ भन्ने करिब करिब निश्कर्ष निस्किइसक्यो ।’
गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद सांसदसहितको सरकार बन्ने देखिएको छ । यहाँ माओवादीले दाबी गरिरहेको भए पनि एमालेले पाउनेमा आफू ढुक्क रहेको खगराजको भनाइ छ ।
सरकार निर्माणका लागि आफूले छलफल र संवाद अगाडि बढाएको पनि उनले बताए । ‘सबैले तपाईं नै हो, मुख्यमन्त्री भनिरहनुभएको छ । १८ गते हाउस बोलाइएको छ, त्यसपछि प्रक्रिया सुरु होला,’ खगराजले भने, ‘गण्डकी माओवादीले नै पाएछ भने पनि म धेरै सम्मान गर्छु, सहयोग गर्छु । तर, गण्डकीमा एमालेकै काँधमा जिम्मेवारी आउने संकेत मैले देखेको छु ।’
अधिकारीले आफू मुख्यमन्त्री भए गण्डकीमा रहेको १२ मन्त्रालय घटाउन चाहेको बताए । जनताले धेरै मन्त्रालय हुँदा नरुचाएको र आफूले त्यो संख्या घटाउन चाहेको बताएका हुन् ।
‘हामी सत्तारुढ घटकहरु बसेर छलफल गर्छौं, प्रतिपक्षको पनि राय लिन्छौं । जनताले यति धेरै मन्त्रालय भएको रुचिकर मानेका छैनन्,’ अधिकारीले भने, ‘अरु प्रदेशले पनि मन्त्रालय नबढाएका होइनन् तर नेता र दललाई व्यवस्थापन गर्न मन्त्रालय फुटाएर संख्या बढाइएको भनेर भएको आलोचना मैले सुनेकै हो ।’
अधिकारीले मनाङेबारे पनि सोच्न सकिने र जनताले मत दिएर जिताइसकेकाले सत्तारुढमा आउँछु भने छलफल गर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति २०७९ पुस १३ गते बुधबार ०९:०४




