पोखरा
स्पेनी क्लब काथेरेन्यो क्लब र गण्डकी ११ बीच बुधबार (आज) पोखरा रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्ने भएका छन् । काथेरेन्यो स्पेनको बी डिभिजन तहको क्लब हो ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसो साढे २ बजेदेखि सुरु हुने खेलमा सहभागी हुन मंगलबार नै पोखरा आइसकेका छन् । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा हुन लागेको खेलमा सहभागी हुन ५५ जनाको टोली पोखरा आएको फाउन्डेसनका महासचिव एकराज गिरीले जानकारी दिए ।
फाउन्डेसनले ‘शान्तिका लागि फुटबल’ नारा दिएर पोखरा र काठमाडौंमा खेल खेलाउन लागेको हो । अध्यक्ष कार्लोसले गौतम बुद्धको जन्मभूमिमा आएर खेल खेल्न पाउँदा खुसी लागेको बताउँछन् ।
‘बुद्धको जन्मभूमि नेपालमा आएर फुटबल खेलेर शान्तिको सन्देश दिन पाउँदा खुसी लागेको छ,’ मंगलबारको पत्रकार सम्मेलनमा उनले भने, ‘यो खेलले नेपाललाई विश्वले अझ नजिकबाट चिन्नेछ भन्ने विश्वास छ ।’
आमन्त्रित काथेरेन्यो क्लबका अध्यक्ष जोसे म्यानुअलले काथेरेन्यो क्लबमा स्पेनका व्यवसायिक खेलाडी नै सहभागी भएकाले मैत्रीपूर्ण खेल उत्कृष्ट हुने सुनाए । ‘बी डिभिजन भए पनि हाम्रो टोली उत्कृष्ट नै छ । अब हामी चाँडै नै ए डिभिजनमा जाने गरी तयारी गर्दैछौं,’ उनले भने ।
जनवरी ४ देखि सुरु हुने किङ्स कपमा रियल म्याड्रिडसँग प्रतिस्पर्धा टिम नै नेपालमा आएको काथेरेन्यो क्लबका प्रशिक्षक खुलिओ कोबोसले जानकारी दिए । ‘खेल एकदम प्रतिस्पर्धा हुनेछ । तर, घरेलु टिमसँग जित निकाल्ने नै हाम्रो रणनीति हो,’ उनले भने ।
गण्डकी ११ का प्रशिक्षक राजेन्द्र तामाङले आफूहरुले पनि राम्रो तयारी गरेकाले खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘यसकै लागि हामी केही दिनदेखि राम्रो तयारी गरिहेका छौं । घरेलु मैदानको भरपूर फाइदा लिनेछौं,’ उनले भने ।
गण्डकी ११ का टिम कप्तान अनिल गुरुङले स्पेनको बी डिभिजनको उत्कृष्टमध्येको क्लबसँग पोखरामा फुटबल खेल्न पाउनु खेलाडी र दर्शकका लागि ठूलो उपलब्धि भएको बताए ।
टोलीले बिहीबार काठमाडौं ११ सँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने छ ।
खेलकाे प्रत्यक्ष प्रसारण पब्लिक फाेरके टिभीले गर्दैछ ।
पत्रकार सम्मेलनमा स्पेनको क्लब र गण्डकी ११
प्रकाशित मिति २०७९ पुस १३ गते बुधबार ११:४७




