२०८३ साउन २१ गते बिहीबार

ल्यान्डफिल नभेटिँदा बाटोमै थुप्रिन थाल्यो पाेखराकाे फोहोर

ल्यान्डफिल नभेटिँदा बाटोमै थुप्रिन थाल्यो पाेखराकाे फोहोर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १३ गते बुधबार ०६:१६

‘अहिले हामी यसको व्यवस्थापनकै प्रक्रियामा छौं । नयाँ ठाउँ खोजेर पनि स्थानीयसँग सहमति गर्नुप¥यो, मान्नुप¥यो,’ महानगर सरसफाइ महाशाखा प्रमुख कल्पना बरालले भनिन्, ‘अब कहिलेसम्म उठ्दैन भन्न सकिँदैन ।’

कहिले उठ्छ फोहोर ? महानगरसँगै जवाफ छैन !

पोखरा
नयाँ ल्यान्डफिल साइट टुंगो नलाग्दा पोखरा महानगरको फोहोर सडकमै थुप्रिन थालेको छ । पोखरा १४, बच्छेबडूँवास्थित हालको ल्यान्डफिल साइटमा फोहोर फाल्न बन्द भएसँगै महानगरले फोहोर उठाउन छाडेको हो ।

अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ देखि व्यवसायिक सञ्चालन हुन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण हाल सञ्चालनमा रहेको ल्यान्डफिल साइटमा फोहोर फाल्न बन्द गरिएपछि सडकमै थुप्रिन थालेको हो ।

महानगरका अनुसार नयाँ ल्यान्डफिल साइट खोज्ने काम भइरहेकाले अझै कति दिन फोहोर नउठ्ने भन्ने अन्योल रहेको जनाएको छ ।

‘अहिले हामी यसको व्यवस्थापनकै प्रक्रियामा छौं । नयाँ ठाउँ खोजेर पनि स्थानीयसँग सहमति गर्नुप¥यो, मान्नुप¥यो,’ महानगर सरसफाइ महाशाखा प्रमुख कल्पना बरालले भनिन्, ‘अब कहिलेसम्म उठ्दैन भन्न सकिँदैन ।’

३ दिनदेखि सडकमै फोहोर थुप्रिँदा दुर्गन्धसमेत फैलिन थालेको छ । तर, महानगर सरसफाइ महाशाखा प्रमुख बराल मुख्य बाटोमा मात्रै फोहोर देखिएको शाखा बाटोमा भने घरभित्रै व्यवस्थापन भइरहेको बताउँछिन् ।

महानगरले यसअघि ल्यान्डफिल साइटको नयाँ विकल्प नभेटिँदासम्म विभिन्न ६ ठाउँमा अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने बताएको थियो । तर, ती ठाउँमा पनि विवाद उत्पन्न भएपछि फोहोर उठाउन नसकिएको बरालले बताइन् । ‘फोहोर भनेपछि सबैको बुझाइ गलत छ । तर, हामी सकेसम्म प्रयास गर्दैछौं,’ उनले भनिन् ।

यही हप्ताभित्रै सञ्चालनमा आउन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य चुनौतीका रुपमा ल्यान्डफिल साइटलाई लिइएको थियो ।

विमानस्थलदेखि करिब २ किलोमिटर दूरीमा रहेको ल्यान्डफिललाई बासस्थान बनाएका चराचुरुंगीको गतिविधिका कारण ‘बर्ड हाजार्ड’ हुने भन्दै आयोजनाले सुरुदेखि नै महानगरलाई विकल्प खोज्न पटकपटक आग्रह गर्दै आएको थियो ।

नेपाल नागरिक उड्ड्यन प्राधिकणले मंसिर ५ गतेदेखि नवनिर्मित विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गरेको थियो । त्यतिबेला पनि प्राधिकरणले फोहोर नफाल्न आग्रह गरेको थियो । तर, महानगरले आफूहरुले मंसिर १८ गतेसम्म अन्यत्र विकल्प खोजिसक्ने र त्यतिञ्जेलसम्मका लागि फोहार व्यवस्थापन गर्न समय मागेको थियो ।

तर, विमानस्थल सुरु हुनै लाग्दासमेत महानगरले ल्यान्डफिल साइटको विकल्प दिन सकेको छैन । उल्टै सम्झौताविपरीत सोही ल्यान्डफिलमा रातारात फोहोर फालेपछि विवाद उत्पन्न भएको थियो ।

महानगरको अघिल्लो कार्यपालिका बैठकले अस्थायी रुपमा पोखरा ३२ लामेआहालमा फोहोर व्यवस्थापन गर्ने निर्णयसमेत गरेको थियो । तर, त्यहाँका स्थानीयको विरोधपछि महानगर पछि हट्नुप¥यो ।

पोखरा महानगर सरसफाइ महाशाखाका अनुसार महानगरभित्र दैनिक २ सय टनभन्दा बढी फोहोर संकलन हुँदै आएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) योजनाअनुसार ९ वटा निजी कम्पनीले महानगरले फोहोर संकलन गर्दै आइरहेका छन् ।

प्रकाशित मिति २०७९ पुस १३ गते बुधबार ०६:१६
हजुरको प्रतिक्रिया