पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका लागि पोखरा महानगरपालिकले उपस्थित हुन जनस्तरमा आह्वान नै गरेको थियो । त्यसै अनुरुप आइतबार विमानस्थल उद्घाटनको अवसरमा पोखराको मुख्य सडक पृथ्वी राजमार्गको अमरसिंहचोकदेखि चाउथे विमानस्थलको मुख्य प्रवेशद्वारसम्म बाजागाजासहितको विशाल ¥याली निकालियो । पोखरेली मानवसागर विमानस्थल उद्घाटनस्थलसम्म पुगेका थिए ।

विमानस्थलभित्र स्टेजसहित, हट एयर बेलुनसहित ठूलो तामझाम थियो । कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरियो । तर, गेट बाहिरको दृश्य भने निकै अस्तव्यस्त थियो । ट्राफिक प्रहरीलाई सडक र यातायात व्यवस्थापन गर्न हम्मे हम्मे भयो । विहान १० बजेबाट सुरु भएको ट्राफिक जाम ६ घण्टासम्म पनि व्यवस्थापन गर्न प्रहरीलाई मुस्किल थियो ।

सडकमा ट्रिपरदेखि साना मोटरसाइकललाई बाटो छिचोलेर अघि बढ्न मुस्किल थियो । एक चालकले भने, ‘यस्तो गरेर पनि के कार्यक्रम । बिजोग भयो ।’ मुख्य राजमार्गमा यात्रुलाई सास्ती हुने गरेर कार्यक्रम गर्नुले अर्थ नराख्ने उनले बताए ।
कास्की ट्राफिक प्रहरी प्रमुख प्रकाश शाहले विमानस्थल उद्घाटन पोखरेलीका लागि पर्व भएका कारण अस्तव्यस्त हुनु सामान्य भएको बताए । उनले जनशक्ति कम भएर व्यवस्थपन गर्न समस्या भएको स्विकार गरेपनि यो असहज हुनु सामान्य भएको बताए । वैकल्पिक बाटोको प्रयोग गर्न नसकेपछि जाम भएको उनको भनाइ छ । मुख्य राजमार्गमा हुने ¥यालीको कार्यक्रमले पोखराको सडकलाई अव्यवस्थित बनाएको छ । यात्रुहरु सास्ती भोग्न बाध्य भएका छन् ।
प्रकाशित मिति २०७९ पुस १७ गते आइतबार ०४:०५




