२०८३ असोज २३ गते शुक्रबार

७१ वर्षको इतिहास बोकेको पुरानो पोखरा विमानस्थल

७१ वर्षको इतिहास बोकेको पुरानो पोखरा विमानस्थल

दुर्गा राना मगर

@Public 4K Tv

२०७९ पुस १८ गते सोमबार १२:५१

उनी भन्छन्, ‘पोखरालाई अन्य क्षेत्रसंग जोड्ने कुनै यातायात साधन नभएको हुँदा व्यापरिक सामान, विकास निर्माणको सामग्री, आवातजावतका लागि मुख्य साधन नै हवाई मार्ग बनेको थियो ।’

पोखरा
पोखरामा जग्गा अधिग्रहण गरिएको ४७ वर्षपछि पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको छ । सन् २०२३ जनवरी १ देखि व्यवसायिक रुपमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ । विमानस्थलमा आन्तरिक उडान सुरु भएपनि अन्तर्राष्ट्रिय उडानका लागि केही समय पर्खिनुपर्ने छ । पोखराको मुस्ताङचोकमा रहेको पुरानो पोखरा विमानस्थलमा भने अब अल्ट्रालाइट, हेलिकप्टर, पोखरा जोमसोमको जानका लागि प्रयोग हुनेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयका निर्देशक विक्रम गौतमका अनुसार पुरानो विमानस्थलमा नयाँ विमानथलको दिशा निर्देश गर्ने दुरी देखाउने यन्त्र राखिएको छ भने हाललाई तेल ल्याउने सुविधाका लागि पनि प्रयोग गरिनेछ । गौतमका अनुसार पुरानो पोखरा विमानस्थलमा भावी योजनाका रुपमा उड्डयान सम्बन्धि तालिम केन्द्रको रुपमा विकास लगिनेछ । १ हजार १५६ रोपनी क्षेत्रफलमा फैलिएको पुरानो पोखरा विमानस्थलले ७१ वर्षको लामो इतिहास बोकेको छ । दिनहुँ काठमाडौं, भैरहवा, जनकपुर, नेपालगञ्जलगायतका ठाउँका लागि आन्तरिक उडान गर्न व्यस्त रहको पोखरा विमानस्थलमा अब भने जहाज उड्ने छैनन् । पोखरा जोमसोम बाहेक सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट नै हुन लागेको छ ।

पहिलो पटक डकोटा जहाज अवतरण
वि.सं. २००८ साल । पश्चिम क्षेत्रको प्रमुख व्यापरिक केन्द्रको रुपमा पोखरा स्थापित भइसकेको थियो । पोखरादेखि काठमाडौं पुग्न हिडेर ५ दिन लाग्थ्यो । सरसामान ल्याउन, आवातजावत गर्न त्यति धेरै समय लाग्नेभएपछि पोखराका त्यतिबेलाका व्यापारिहरु प्रेमराज मुल्मी, अमृतप्रसाद शेरचन, श्यामप्रसाद कर्माचार्य, झलकलाल कायस्थ, जितप्रसाद द्धा, शिवविलास तुलाचन, टेकबहादुर ढेवाजुलगायतकाको नेतृत्वमा पोखरामा जहाज ल्याउनुपर्छ भनेर नेतृत्व गरिएको लिइयो । २००८ सालमा नै टेकबहादुर ढेवाजुको अध्यक्षतामा पोखरा व्यापार संघको स्थापना पनि भएको थियो । नेपालमा पहिलो पटक काठमाडौं र त्यसपछि सिमरा जहाज पुगिसकेको थियो ।

भर्खर राणाशासनको अन्त्यपछि नागरिकको कुरा सुन्ने एक क्रान्तिको सुरुआतसंगै पोखरामा विमान ल्याउने योजना बुनिएको बताउँछन् पोखराका व्यवसायी तथा नेपाल उद्योग वाणिज्य संघका भुतपूर्व अध्यक्ष आनन्दराज मुल्मी । एक क्रान्तिको सुरुआतसंगै नयाँ योजना लिएर गएपछि सुन्ने वातावरण त्यतिबेला रहेकाले पनि पोखरा विमान आउन सम्भव भएको मुल्मीलाई लाग्छ । पोखराका तत्कालिन व्यवसायीहरुको पोखरामा जहाज ल्याउन गरेको निवेदनलाई छलफल पछि परीक्षणका लागि जहाज लैजाने निर्णय त्यतिबेला भयो । बस्ती नभएको, झाँडीमात्रै रहेको सो पाटनमा जहाज अवतरण गर्ने कुरा संगै त्यतिबेला पोख्रेलीहरु पुगेर खरबारी, काडाँ झाँडी फडान सफा गर्ने काम गरेको पनि मुल्मीले जिकिर गरे । उनी सम्झन्छन्, ‘झाँडीमात्रै थियो, जहाज आउने भएपछि जहाजले ओगट्ने ठाउँमात्र बनाएर सफा गरिएको थियो । ’

त्यतिबेला पहिलोपटक खुला चौरमा बिना कुनै पुर्वाधार पोखरामा २००८ सालमा पहिलो पटक डकोटा जहाज अवतरण भएको थियो । जहाजमा चालकसंगै तत्कालीन नेता तथा यातायातमन्त्री गणेशमान सिंह ओर्लिएका थिए । त्यसपछि विमानस्थलको २०१५ असार २२ बाट औपचारिक रुपमा सुरुआत भएको थियो । ‘अहिलेको पुरानो विमानस्थलको गेटमा ठूलो समीको रुख थियो जहाँ बसेर जहाजको टिकट काटिन्थ्यो । त्यसबेला जहाज आएसी मात्र टिकट काट्ने चलन थियो । जाने यात्रुहरु पर्खेर बस्ने ठाउँमा पनि त्यहि समीको रुख थियो’ मुल्मी स्मरण गर्छन् ।
।
तत्कालिन नेता वि.पि कोइराला वि.सं २००८ सालमा पोखरा आवगमन पछि नै पोखरा विमानस्थलको थालनी भएको अर्को पोखराका व्यवसायी विश्वशंकर पालिखे बताउँछन् । तत्काली शाही नेपाल वायु सेवा निगमको स्थापना पनि नभएको हुँदा हिमालय एभिएसन नामको भारती कम्पनीले डकोटा विमानबाट हवाई सञ्चालन गरेको उनले बताए । उनी भन्छन्, ‘पोखरालाई अन्य क्षेत्रसंग जोड्ने कुनै यातायात साधन नभएको हुँदा व्यापरिक सामान, विकास निर्माणको सामग्री, आवातजावतका लागि मुख्य साधन नै हवाई मार्ग बनेको थियो ।’ भारतीय सैनिकदेखि व्यापार व्यवसायका लागि जहाज चढ्नेहरुको घुइँचो लागको उनी सम्झन्छन् ।

अग्रज व्यवसायी मुल्मी पहिलो पटक वि.सं २०१४ सालमा जहाज चढेको सम्झन्छन् । झन्डै सोह्र रुपैयाँ तिरेर जहाज चढि उनी काठमाडौं गएका थिए । उनी भन्छन्, ‘डकोटा जहाजमा मान्छे र सामान दुवै एकै ठाउँमा राखिन्थ्यो । २५, ३० जना मान्छे हुन्थे एकपटकमा । सोह्र रुपैयाँ तिरेर त्यतिबेला डकोटा जहाज चढेर बुवासंग काठमाडौं गएको थियो ।’ यातायात मार्गको विकास नभइसकेको उतिबेला पोखराबाट बाहिर जान अधिकांश हिडेर जान्थे र पैसा हुनेहरु जहाज चढ्थे ।

पोखरा विमानस्थल

समाजशास्त्री तथा पोखराका ज्ञाता विश्व सिग्देल भन्छन्, ‘पोखराकोे रोचक कुरा नै हो । पहिले जहाज आयो र त्यहि जहाज चढेर दोस्रोमा जीप आयो, पछि बस गर्दै अरु साधन आयो ।’ पोखरामा २००८ सालमा पहिलोपटक जहाज अवतरण हुँदा राजमार्ग नै थिएन । पोख्रेलीले पहिलो पटक देखेको नै जहाज हो । पोखराको मौलिकता र विशेषता नै यहि भएको बताउँछन् सिग्देल । त्यसपछि राजा महेन्द्रले आफूले चढ्नका लागि काठमाण्डौंदेखि जहाजमा जीप ल्याएका थिए । जुन तत्कालीन राजारानीको निवास रत्नमन्दिरमा राखिन्थ्यो । जनताको श्रमदानले नै बनेको त्यतिबेलाको पोखरामा जहाज आएको र विमानस्थल बनेको उनी बताउँछन् । सिग्देलका अनुसार खुला घाँसे मैदान रहेको उतिबेलामा विमान नआउँदा स्थानीयले गाइगोरु चराउने गर्थे र विमान आइसकेपछि बल्ल सिटि फुक्दै गाईगोरु हटाउने मान्छे रोक्ने काम हुने गथ्र्यो ।

पोखरा विमानस्थलको भौगलिक कारणका कारण ठूलो जहाज अवतरण र उडान गर्न नसकिने, खुला क्षेत्रको अभावले धावन मार्ग विस्तार गर्न नसकिने लगायतको कारण देखाई नयाँ विमानस्थल निर्माणको चर्चा २०२९ सालमा नै चल्यो । व्यवसायी विश्व शंकर पालिखेका अनुसार त्यतिबेला प्यासिफिक एशोसिएशन अफ ट्राभल एजेन्सीले थाइल्याण्डको पटैया र पोखराको पर्यटन विकासका लागि गुरु योजना तयार पारेको थियो । जसअनुसार नै पोखरामा ठूलो जहाज अवतरण गर्न सक्ने विमानस्थलको आवश्यकताबारे सुझाव दिइएको थियो ।

२०३० सालमा गण्डकी अञ्चलाधिशका रुपमा शंकरराज पाठक पोखरा आइसकेपछि भने गुरुयोजना तयार भएको व्यवसायी मुल्मीले बताए । उनले भने, ‘नयाँ विमानस्थलको गुरुयोजना तयार पार्न यसलाई मुर्त रुपमा दिनका लागि उनको योगदान ठूलो छ ।’ पाठकको क्रियाशिलतामा नै २०३२ सालको अन्त्य विमानस्थल निर्माणका लागि साविकको छिनेडाँडा गाउँ विकास समितिको डडुवा खर्क, मझेरीपाटन, छिनेडाँडा र हालको पोखरा महानगरपालिकाको वडा नं १४ को जग्गा अधिग्रहणको कार्य सुरु भएको थियो । अधिग्रहणको ४७ वर्षपछि २०७९ सालमा आएर सो ठाउँमा नयाँ विमानस्थलको निर्माण सम्पन्न भइ व्यवसायिक उडान सुरु भएको छ ।

योजना तथा कार्यक्रममा परेपनि विमानस्थल बन्नका लागि ढिलाइ र थुप्रै कठिनाइ देखिएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पोखराका व्यवसायी तथा उद्योगीहरु सरोकार समिति नै गठन गरि २०६८ देखि भने संघर्षको कार्यक्रम ल्याएका थिए । लामो संघर्षपछि भने विमानस्थल निर्माणको कार्य अघि बढि अहिले सम्पन्न भएको हो ।  नयाँ विमानस्थलको निर्माणसंगै पोखरा विमानस्थलको भविष्यबारे छलफल सुरु भएको थियो । विवाद र अन्योलपछि नै अहिले यसलाई तालिम केन्द्रको रुपमा विकास गर्ने नागरिक उड्डयानले बताएको छ ।

पोखरा विमानस्थललाई खुला राख्नुपर्ने बहस

पोखरा विमानस्थललाई अरु व्यापारिक प्रयोजनका लागि नगरि यसलाई खुला नै राखि संरक्षण गरिनुपर्ने आवाज पनि उठेको छ ।

समाजशास्त्री विश्व सिग्देल भन्छन्, ‘पोखराको आवादी हेरिकन ५ प्रतिशत ठाउँपनि खुला ठाउँ छैन । कंक्रिट र कोलाहललाई मात्रै विकास भएको मान्न सकिन्न । स्मार्ट सिटिको योजना रहेको पोरखमा अन्तर्राष्ट्रिय अभ्यास अनुसार कम्तीमा ४० प्रतिशत खुला ठाउँ हुनुपर्ने हो जसमा खेलमैदान, थिएटर, सांस्कृतिक केन्द्र पार्क हुन सक्छन् । ’ उनले यस विमानस्थललाई अरु प्रयोजनका लागि नदिइ संरक्षण र भोली विपदका बेलामा आश्रयका लागि आवश्यक खुला ठाउँका रुपमा संरक्षण गरिनुपर्ने बताए ।

प्रकाशित मिति २०७९ पुस १८ गते सोमबार १२:५१

हजुरको प्रतिक्रिया