२०८३ साउन २१ गते बिहीबार

सदावहार गायिका दीपा झाको पोखरामा प्रस्तुति

सदावहार गायिका दीपा झाको पोखरामा प्रस्तुति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २१ गते बिहीबार ०९:३४

कुसुमे रुमाल, चिया बारीमा, इशाराले बोलाउनु पर्दैन, मोहनी माया, उकालीमा अघिअघि, सम्झना बिर्सना लगायतका गीतहरु सो कार्यक्रममा दीपाले प्रस्तुत गर्नेछन् ।

पोखरा

पोखरेली गायिकाहरुको संस्था हार्मोनी पोखराको आयोजनामा चौंथो संस्करणको सांगीतिक कार्यक्रम टेस्ट अफ हार्मोनी  पुस २९ गते  शुक्रबार पोखरा सभागृहमा हुने  भएकाे छ । कार्यक्रममा विशेष आकर्षणको रुपमा गायिका दीपा नारायण झा रहनेछन् । हार्मोनीले दीपाप्रति सम्मान प्रकट गर्दै चाैंथो संस्करणको कार्यक्रमको नाम नै ‘धुनहरुमा दीपानारायण झा’ राखेको छ ।

सदावहार गायिकाको छवि बनाएकी दीपानारायण झाले हार्मोनी पोखराको यो सांगीतिक कार्यक्रममा आफ्ना पुराना गीतहरु प्रस्तुत गर्नेछिन् । ‘पोखरेली संगीतप्रेमीहरुका लागि यो निकै गज्जब र उत्साहपूर्ण कुरा हो । विशेषगरी पोखरेली गायिकाहरुका लागि त झन् यो विशेष कार्यक्रमले ठूलो अर्थ राख्नेछ ’, हार्मोनी पोखराका अध्यक्ष इतु जोजिजूले भनिन्‘समग्र पोखराको लागि पनि यो सांगीतिक कार्यक्रम फलदायी हुनेमा हामी ढुक्क छौं ।’

दीपानारायण झासँग स्टेज सेयर गर्दै उनले गाएका चर्चित सदावहार गीतहरु गाउने मौका पोखरेली गायिकाहरुले पाउनु ऐतिहासिक भएको उनले बताइन् । कार्यक्रममा दीपानारायण झासँगै पोखरेली गायिकाहरु इतु जोजिजू, शीतल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतिक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति श्रेष्ठले आफ्नो प्रस्तुति दिनेछन् ।

सो कार्यक्रममा विशेष सहयोगी गायकको रुपमा रामभक्त जोजिजू, विनोद बानिया, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमुको प्रस्तुति रहने हार्मोनी पोखराले जनाएको छ । कुसुमे रुमाल, चिया बारीमा, इशाराले बोलाउनु पर्दैन, मोहनी माया, उकालीमा अघिअघि, सम्झना बिर्सना लगायतका गीतहरु सो कार्यक्रममा दीपाले प्रस्तुत गर्नेछन् ।

सांगीतिक क्षेत्रमा महिलाहरुको पनि बलियो उपस्थिति देखाउन हार्मोनी पोखराको स्थापना भएको हो । र, संस्था गठन भएसँगै यसले विभिन्न कार्यक्रमहरु समेत गरिसकेको छ । यसअगाडि लेजेन्डरी हार्मोनियस इभिनिङ, टेस्ट अफ हार्मोनी र धुनहरुमा तारादेवी र अरुणा लामा गरी संस्थाले तीन वटा सांगीतिक गरिसकेको छ । गायिकाहरुको एकतासँगै नयाँ पुस्ताका गायिकाहरुको लागि प्लेटफर्म तयार गर्न संस्था विशेष रुपमा सक्रिय रहँदै आएको छ । गायिकाहरुको क्षेत्रमा विशेष ध्यान दिएर काम गर्ने संस्थाले यो बीचमा थुप्रै सम्मान तथा पुरस्कारहरु पनि पाएको छ ।

 

प्रकाशित मिति २०७९ पुस २१ गते बिहीबार ०९:३४
हजुरको प्रतिक्रिया