पोखरा
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनको लागि दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखले आगामी पुस २५ गते अपराह्न ४ बजे भित्र दाबी पेश गर्न आज बिहीबार आह्वान गरेका हु्न् ।
प्रदेश सभामा कुनै एउटा दलको बहुमत नआएपछि प्रदेश प्रमुखले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्नका लागि दाबी पेश गर्न आह्वान गरेको सूचनामा उल्लेख गरिएको छ ।
केन्द्रको गठबन्धन अनुसार गण्डकी प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा मिलेर सरकार बन्नेछ । सहमति अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको छ । नेकपा एमाले संसदीय दलको नेता खगराज अधिकारी हुन् । गण्डकीमा एमालेका २२, नेकपा माओवादीका ८ र राप्रपाका २ सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सदस्य आवश्यक पर्दछ ।

प्रकाशित मिति २०७९ पुस २१ गते बिहीबार ०३:४७