तनहुँ
थरिथरीमा पोसाकमा छन्, बुढाबुढीदेखि तन्नेरीहरु । कतै सोरठी नाचिरहेका देखिए त कतै नचरी र कौरा घन्किरहेको छ । परम्परागत खानाको बासना वरिपरी फैलिएको छ ।
पुराना बाजा बजिरहेका छन् भने आदिवासी सांस्कृतिक झल्को दिने सामाग्रीहरुले पनि उसै गरी माहोल रंगाएको छ । हो, यसरी तनहुँमा आदिवासी जनजातीहरुले उत्सव मनाइरहेका छन् ।

आदिवासी जनजाति तथा सांस्कृतिक महोत्सव नाम दिएर भइरहेको यो उत्सवमा रमाइरहेको छन्, दमौली र आसपास मानिसहरु ।
आदिवासी जनजाति महासंघ तनहुँले बर्सेनि गर्दै आएको यो महोत्सव सिंगो आदिवासी जनजातीका कला, संस्कृति र जनजीवन बुझ्ने थलो बनिरहेको छ ।

व्यास–३ बिपी वनवाटिकामा शुक्रबारदेखि सुरु भएको यो महोत्सव पाँचौ हो । महोत्सवको तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद शंकर भण्डारीले उद्घाटन गरे ।
महोत्सवको उद्घाटन गर्दै भण्डारीले भने, ‘हाम्रो संस्कृति हाम्रा लागि सबैभन्दा ठूलो सम्पति हो, आउँदो पुस्ताका निम्ति यो जोगाइराख्न पनि यस्ता महोत्सव हुन जरुरी छ ।’
तनहुँमा ६५ प्रतिशत आदिवासी जनजाती बसोबास गर्ने तथ्यांक छ । आदिवासीको यो उर्वर भूमिमा २०६५ सालमा पहिलो आदिवासी महोत्सव भएको थियो ।

संस्कृतिको जर्गेना र प्रवद्र्धनमात्रै होइन, यो महोत्सवले आर्थिक, सामाजिक र पर्यटन क्षेत्रलाई चलायमान पनि बनाउने महोत्सवका निर्देशक वसुन्धरा घर्तीले बताइन् ।
महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, कौराहा तथा लोकदोहोरी प्रतियोगिता हुनेछ ।

रमाइलो मेला, राउटे समुदायको प्रस्तुति, सांस्कृतिक नमूना ग्राम भ्रमण, धार्मिक एवं ऐतिहासिक स्थलको प्रबद्र्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलविहारले महोत्सवलाई मुख्य आकर्षण भर्ने छन् ।







