पोखरा
नेकपा एमाले संसदीय दल गण्डकीका नेता खगराज अधिकारीले सरकार आफूहरुको प्राथमिकता नभए पनि परिस्थितिले नेतृत्व गर्ने ल्याइपु¥याएको बताएका छन् ।
मुलुक अस्थिरताको भूमरीमा नपरोस् भन्ने चिन्ता आफूहरुलाई भएको अधिकारीको भनाइ छ ।
अधिकारीले पत्रकारहरुसँग कुराकानी गर्दै गण्डकीमा नयाँ सरकार गठनका लागि परामर्श भइरहेको पनि बताए ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ गते ४ बजेसम्म सरकार गठन गर्न २ र वा २ भन्दा बढी दलहरुले मिलेर आउन आह्वान गरेका छन् ।
अधिकारीले सरकार बनाउन समयभित्रै दाबा पेश गर्ने छिट्टै संघले केन्द्रबाटै निर्णय गर्ने पनि बताए ।
‘मुलुक अस्थिरताको भूमरीमा नपरोस् भन्ने चिन्ता हो । सरकार हाम्रो प्राथमिकतामा पर्दैन,’ एमाले संगठन विभाग प्रमुखसमेत रहेका अधिकारीले भने, ‘तर, पनि सरकारको नेतृत्व गर्ने ठाउँमा अथवा सरकार बनाउने ठाउँमा आइपुगेका छौं ।’
सरकार बनाउँदा सबैको उचित मान, मर्यादा गर्दै निश्कर्ष निकालेर जाने बताउँदै अधिकारीले कसैलाई पनि अपमान हुने गरेर आफूहरु नजाने उनको भनाइ थियो ।
गण्डकीमा एमालेका २२, माओवादीका ८, राप्रपाका २ सांसद मिलेर सरकार बन्ने लगभग पक्काजस्तै देखिन्छ ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस २७ सिट जितेर बहुमत नजिक हुँदा पनि प्रतिपक्षमा पुग्ने देखिन्छ ।
मनाङबाट स्वतन्त्र जितेर एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे सरकारमा जान्छन् वा प्रतिपक्षमै बस्ने निर्णय गरिरहेका छैनन् । तर, एमालेजनहरु भने मनाङेले पनि सत्तापक्षलाई समर्थन गर्ने दाबी गर्छन् ।
प्रकाशित मिति २०७९ पुस २३ गते शनिबार ०५:५२




