मोरङ
प्रदेश एकको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेश गर्ने भएका छन् । शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएपछि कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका हुन् ।
कार्कीले आज दिउँसोसम्म दाबी पेश गर्ने तयारी गरेका छन् । माओवादीले प्रदेश १ को मुख्यमन्त्री पाउनु पर्ने दाबी गरेपछि मुख्यमन्त्रीको दाबी पेश भएको थिएन । संविधानको धारा १६८ (२) बमोजिम २ वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङले आजसम्मको सीमा दिएका छन् ।
माओवादीले औपचारिक निर्णय हुन बाँकी रहेपनि प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको जनाएको छ । ९३ सदस्यीय प्रदेशसभामध्ये ६० जना प्रदेशसभा सदस्यको समर्थनमा दाबी पेश गर्ने एमालेको तयारी छ । एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ गरी एमाले गठबन्धनसँग ६० संसद् छन् । सरकार गठन गर्नका लागि ४७ जना आवश्यक पर्छ ।
प्रकाशित मिति २०७९ पुस २४ गते आइतबार १०:०७