२०८३ साउन २१ गते बिहीबार

धुनहरुमा गुञ्जदैं दिपानारायण झा

धुनहरुमा गुञ्जदैं दिपानारायण झा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २४ गते आइतबार ०५:४८

पोखरामा पुस २९ गते दीपानारायण झाको स्वर प्रत्यक्षसमेत गुञ्जिनेछ ।

पोखरा

भुलिगए सम्झनालाई कुसुमे रुमाल
याद भए मायालु अर्को साल

दीपानारायण झाले नेपाली सांगीतिक क्षेत्रमा पाइला राखेपछि सुरुवाती दिनमा गाएको यो गीत अझै उस्तै लोकप्रिय र यादगार छ । यहीं गीतको शब्दलाई सापट लिएर पछि नेपाली चलचित्रसमेत बन्यो ।

भारतको पश्चिम बंगालमा जन्मिएकी दीपाले नेपाली सांगीतिक क्षेत्रमा दर्जनौं हिट गीत पस्किएकी छन् । चाहे सुगम संंगीतमा होस् त नेपाली फिल्मका गीतहरुमा उनका जादुमयी स्वर भरिएको छ । कुनै समय यस्तो थियो, नेपाली चलचित्रको पाश्र्व गायनमा दीपा र उनका श्रीमान उदीतनारायण झाको विकल्पका स्वर थिएनन् । नेपाली सांगीतिक क्षेत्रमा मात्रै नभएर दीपा र उदीले भारतीय सांगीतिक क्षेत्रमा पनि राज गरेका छन् ।

उनै दीपानारयाण झाका गीत पोखरेली धुनहरुमा गुञ्जदैछन् । पोखरेली पोखराका कर्मशील गायिकाहरुको संस्था हार्मोनी पोखराले ‘धुनहरुमा दीपानारायण झा’ कार्यक्रमको आयोजन गरेर उनका गीतहरु गुञ्जाउँदैछ । टेस्ट अफ हार्मोनीको चौथो संस्करण अन्तर्गत ‘धुनहरुमा दीपानारायण झा’ आयोजन गरिएको हो ।

टेस्ट अफ हार्मोनीको पहिलो संस्करणमा वरिष्ठ गायिकाहरु मीरा राण, बाबा राणा, ज्ञानु राणा र रचनाकार बसन्ती लालचनलाई हार्मोनी सम्मान गरिएको थियो । दोस्रो संस्करणमा वरिष्ठ लोक गायिका तथा प्राज्ञ हरिदेवी कोइराला, उषा शेरचनलाई हार्मोनी सम्मान प्रदान गरियो । नेपालकै पहिलो पाश्र्व संगीतकार शान्ति ठटाललाई पनि हार्मोनी अभिनन्दन गरिएको थियो ।

तेस्रो संस्करणलाई ‘धुनहरुमा तारादेवी र अरुणा लामा’ नाम दिइयो । त्यतिबेला दार्जिलिङकी गायिका दावा ग्याल्मो, वरिष्ठ नृत्यांगना रत्न दासलाई सम्मान गरिएको थियो ।

पोखरामा पुस २९ गते दीपानारायण झाको स्वर प्रत्यक्षसमेत गुञ्जिनेछ । ‘दीपानारयण झाको विगतको अनुभव हामीले सुन्न पाउनेछौं । उहाँले केही चर्चित गीतहरुमा प्रस्तुती दिनुहुनेछ’, हार्मोनी पोखराकी अध्यक्ष इतु जोजिजुले भनिन् । कार्यक्रममा दीपालाई विशेष सम्मानसमेत गरिनेछ । पोखरेली कलाकारले दीपाका गीतहरु सुनाउनेछन् ।

पोखरेली गायिकाहरु इतु जोजिजु, शीतल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतीक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति गुरुङले दीपाको गीतमा स्वर भर्नेछन् । रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमुले साथ दिनेछन् ।

दीपाले नेपाली सुगम संगीतसहित सम्झना, कुसुमे रुमाल, मसाल, अन्याय, पिरती, सन्तान, कन्यादान, फेरि भेटौंला, कर्जा, पछ्यौरी, देउकी, ट्रक ड्राइभर, कसमलगायत नेपाली चलचित्रका गीतहरुमा दिएको स्वर यादगार छन् ।

‘धुनहरुमा दीपानारायण झा’ कार्यक्रमको अवसरमा क्यान्सर पीडित लक्ष्मी भट्टराई र भायोलिन तथा पियानो वादक उपासना पाख्रिनलाई पनि प्रोत्साहन सम्मान गरिने अध्यक्ष इतुले बताइन् । समाजसेवी भट्टराई क्यान्सरसँग लड्दै समाजमा प्रेरणादायी भुमिका निर्वाहा गरेको सम्मान गर्ने उनको भनाई छ ।

प्रकाशित मिति २०७९ पुस २४ गते आइतबार ०५:४८
हजुरको प्रतिक्रिया