पोखरा
चुनावअघि संघ नै आफ्नो रोजाइ भएको बताएका एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी अन्नत गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएका छन् । कास्की–१ (१) बाट चुनाव जितेर एमाले संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका खगराज माओवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
गत पुस २५ गते गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ गते ४ बजेभित्र २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री दाबी पेश गर्न आह्वान गरेका थिए । सत्तारुढ दलले आइतबार साँझमात्र प्रदेशको बागबण्डा मिलाएपछि प्राप्त समय सीमाको अन्तिम दिन ३३ सांसदको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री नियुक्त गर्न खगराजले दाबी पेश गरेका थिए । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम खगराजलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र दीपक मनाङेले खगराजलाई मुख्यमन्त्री बनाउन दाबी गरेका थिए । स्वतन्त्र जितेर एकीकृत समाजवादी प्रवेश गरेकाे घाेषणा गरेका मनाङेले अन्तिममा खगराजलाई भेटेर फर्किएपछि एमालेलाई समर्थन गर्ने बताएका थिए । गण्डकीमा कांग्रेसका २७ सांसद प्रतिपक्षमा हुने छन् । गण्डकी प्रदेशमै दोहोरिन चाहेका पूर्व मुख्यमन्त्री तथा एमाले महासचिव पृथ्वीसुब्बा गुरुङले संघमा टिकट पाउँदा खगराजलाई गण्डकीको मुख्यमन्त्रीका रुपमा हेरिएको थियो । माओवादीका दीपक कोइरालालाई झण्डै ४ हजार मतले हराउँदै विजयी भएका खगराज २०७० सालमा शुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । नेकपाभित्र चरम विवादका बेला खगराज १३ दिने गृहमन्त्री भएका थिए ।
२०१८ साल चैत १३ गते पोखरा–३१ बेगनासमा जन्मिएका खगराज स्कुले जीवनमै आनन्दज्योति माध्यमिक विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को सभापतिको बनेका थिए । २०३३ सालमा पुष्पलाल समूहको एरिया कमिटी सदस्य भएर संगठानिक रुपमा काम थालेका खगराज २ पटकसम्म पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका थिए ।
२०४७ सालमा बनेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक केन्द्रीय बनेका खगराज २०४९ सालमा केन्द्रीय अनुशासन निरीक्षण कमिटी सदस्य भएका थिए । २०४८ सालयता ६ पटक चुनावमा भाग लिएका खगराजले २०५१ सालको मध्यावधि र २०७४ सालको आम चुनाव जितेका थिए । २०४८ को चुनावमा उनी कांग्रेस नेता तारानाथ रानाभाटसँग पराजित भएका थिए भने ५१ को मध्यावधिमा रानाभाटलाई बदला लिएका थिए ।
२०५६ फेरि रानाभाटसँग नै हारेका खगराज २०६४ मा देव गुरुङसँग पराजित भएका भए । २०७४ मा चुनाव जितेका खगराज यसपटक प्रदेशमा झरेका हुन् । कांग्रेस नेतृत्वको गठबन्धन कायमै रहँदा मुख्यमन्त्री बन्ने सम्भावना कम भएका खगराज केन्द्रमा सत्ता समीकरण फेरिँदा अन्नत गण्डकीको मुख्यमन्त्री बनेर इतिहास रचेका छन् ।
प्रकाशित मिति २०७९ पुस २५ गते सोमबार ०३:०९




