पोखरा ।
पोखरा महानगरपालिकाको १२ औँ नगरसभा अनिश्चितकाललाई स्थगित भएको छ ।
नेपाली कांग्रेसले मंगलबार बहिष्कार गरेपछि नगरसभा मेयर धनराज आचार्यले अर्को सूचना नआउँदासम्मलाई स्थगित गरेका हुन् ।
जातीय विभेदको आरोप लागेका वडाध्यक्षलाई कारबाही गर्नुपर्ने माग गर्दै नेकपा एमालेका तर्फबाट निर्वाचित दलित समुदायका जनप्रतिनिधिले नगरसभामा विरोध जनाएका थिए ।
कार्यसूची बाहिरको विषयलाई नगरसभामा प्रवेश गराएको, कालोपट्टी देखाएर एमालेले प्रमुख अतिथि मुख्यमन्त्रीको अपमान गरेको भन्दै कांग्रेस जनप्रतिनिधिले विरोध जनाएका थिए ।
मेयर आचार्यले कांग्रेस दल नेता दिवसमान प्रधानाङ्गलाई आफ्ना भनाइ राख्न समय दिए । त्यसपछि उनले एमालेले मर्यादाविपरीत गरेको भन्दै नगरसभा बहिष्कार गर्न निर्देशन जारी गरे । लगत्तै कांग्रेस जनप्रतिनिधि निस्किए ।
कांग्रेसका जनप्रतिनिधि निस्किएपछि एमालेले आफ्ना कुरा राख्न समय माग्यो । एमाले दल नेता राधिका शाही योगीले दलले नभई व्यक्तिले आफ्नो माग नगरसभामा राखेको बताइन् ।
प्रकाशित मिति २०७९ पुस २६ गते मंगलबार ०५:४५