२०८३ साउन २१ गते बिहीबार

जहाँ ६६ वर्षदेखि माघे सक्रान्ति मेला लागिरहेछ

जहाँ ६६ वर्षदेखि माघे सक्रान्ति मेला लागिरहेछ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २७ गते बुधबार ०५:४७

बसाइसराइ र वैदेशिक रोजगारीले गाउँ रित्तिएको छ । तैपनि बसाइ झरेका, विदेश गएकाहरु हरेक माघे संक्रान्ति मनाउन गाउँ फर्कने उनले बताए ।

पोखरा –१६ रञ्जित गाउँमा मेला

पोखरा

पोखरा महानगरपालिका–१६ रञ्जित गाउँमा माघे संक्रान्ति मेला हुने भएको छ । पुस २८ देखि माघ १ गतेसम्म मेला चल्नेछ ।
यहाँ ६६ बर्षदेखि माघे सक्रान्ति मेला हुँदै आइरहेको छ । सुरुवातमा ठेलो प्रतियोगिताबाट मेला सुरु भएको आयोजक नौधारे सिद्धबराह युवा क्लबका अध्यक्ष शम्शेरबहादुर गुरुङले बताए ।

पहिले ४० घरधुरी रहेको गाउँमा अहिले ७ घरधुरी छन । बसाइसराइ र वैदेशिक रोजगारीले गाउँ रित्तिएको छ । तैपनि बसाइ झरेका, विदेश गएकाहरु हरेक माघे संक्रान्ति मनाउन गाउँ फर्कने उनले बताए । ‘गाउँमा नभएपनि माघे संक्रान्तिमा आएर मेला लगाउथ्यौं’, उनले भने ।

मेलामा भलिबल प्रतियोगिता ठेलो प्रतियोगितासँगै साँस्कृतिक कार्यक्रम हुने स्थानीय युवा सन्दिप गुरुङले बताए । उनका अनुसार बिहिबारदेखि खुला भलिबल प्रतियोगिता सुरु हुनेछ ।

भलिबल प्रतियोगिताको विजेताले ५१ हजार १११ रुपैयाँ प्राप्त गर्दा उपविजेताले ३० हजार रुपैयाँ पाउनेछ ।

ठेलोको विजेताले १५ हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँ पाउनेछन् ।

माघे संक्रान्तिको दिन विहान गाउँदेखि पूर्वको उत्तरमा पर्ने नौ धारे सिद्ध बराह मन्दिरमा स्नान गरेर भजनकिर्तन गरिनेछ । दिउँसो भलिबल र ठेलो प्रतियोगिता हुनेछ भने साँझपख साँस्कृतिक कार्यक्रम गर्ने आयोजकले जानकारी दिएको छ ।

पोखराको महेन्द्र गुफाबाट ५ किलोमिटरको दुरीमा रञ्जित गाउँ पर्छ । पछिल्लो समय यहाँका स्थानीयले गाउँलाई पुर्नजिवन दिने प्रयासमा लागेका छन् । भत्किएर बाँकी रहेका घरहरुमा होमस्टे सञ्चालन गरिएको छ । ४० जना होमस्टेले राख्न सक्ने क्षमता छ । गाउँले कृषिकर्म र बाख्रा पालनमा लागेका छन् । पोखराबाट नजिकै रहेको गाउँलाई पर्यटकीय गाउँ बनाउने लक्ष्य छ ।

प्रकाशित मिति २०७९ पुस २७ गते बुधबार ०५:४७
हजुरको प्रतिक्रिया