२०८३ साउन २१ गते बिहीबार

सत्ता साझेदार दलहरूको बैठक बस्दै

सत्ता साझेदार दलहरूको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २८ गते बिहीबार ०९:०४

सरकारमा सहभागी हुने दलको संख्या अझै यकिन नहुँदा र समर्थन गर्ने दलको पनि आ–आफ्नै दाबीका कारण शक्ति बाँडफाँट सकस पूर्ण देखिएको छ ।

मन्त्रालय बाँडफाँट र मन्त्रिपरिषद् विस्तारको एजेन्डा

काठमाडौं

मन्त्री परिषद् विस्तार र मन्त्रालयको भागवण्डा मिलाउन सत्ता साझेदार दलहरुको बैठक आज बस्दैछ । बैठक दिउँसाे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्नेछ । प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । बैठक बस्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री दाहालले बुधबार बेलुकी छलफल गरेका थिए ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन । कुन दलले कति मन्त्रालय लिने भन्ने विषय टुंगिन बाँकी छ । त्यही विषयमा छलफलका लागि बैठक बोलाइएको हो । बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय टुंगो लगाउने र बाँकी रहेका मन्त्रालयको भागबन्डा पनि गरिनेछ ।

माघ ५ मा सभामुख चयनका गर्न चुनाव हुने भएकाले त्यसअगाडि नै सत्ता गठबन्धनका दलहरुबीच शक्ति बाँडफाँट प्याकेजमै गर्नुपर्ने दबाब छ । सरकारमा सहभागी हुने दलको संख्या अझै यकिन नहुँदा र समर्थन गर्ने दलको पनि आ–आफ्नै दाबीका कारण शक्ति बाँडफाँट सकस पूर्ण देखिएको छ ।

प्रचण्ड नेतृत्वको सरकारलाई एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् । सरकारले पूर्णता पाएपछि राष्ट्रपति, सभामुख, उपसभामुख चयनमा केन्द्रित हुने दलहरुको तयारी छ । प्रधानमन्त्रीलाई नेपाली कांग्रेस र एकीकृत समाजवादीले पनि विश्वासको मत दिएका छन् ।

सरकारमा सहभागी हुन एकीकृत समाजवादी पनि निरन्तर छलफलमा छ । दलहरु धेरै भएकाले भागवण्डा मिलाउने विषय पेचिलो देखिएको छ ।

प्रकाशित मिति २०७९ पुस २८ गते बिहीबार ०९:०४
हजुरको प्रतिक्रिया