पोखरा
गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभा भवन नदिपुरमा बैठक दिउँसो १ बस्ने संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने कार्यतालिका छ । गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले आज विश्वासको मत लिन लागेका हुन् ।
गण्डकी प्रदेश सभाका ३३ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । नेकपा एमालेका २२, माओवादीका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र एकीकृत समाजवादीमा प्रवेश गरेपनि स्वतन्त्र सांसदको हैसियतमा राजीव गुरुङ दीपक मनाङेले अधिकारीलाई समर्थन गरेका छन् । गण्डकीमा सरकार गठनका लागि ३१ सदस्य आवश्यक पर्दछ ।
अधिकारीले माओवादीका हरिबहादुर चुमान, राप्रपाका पञ्चराम तमु र एमालेका सीता सुन्दासलाई मन्त्रीमा नियुक्त गरेका छन् । तर, उनीहरुले मन्त्रालयको जिम्मेवारी भने पाएका छन् । एमाले स्रोतका अनुसार आज विश्वासको मतलिएपछि अधिकारीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । स्रोतका अनुसार भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुनेछ । मन्त्री बन्नका लागि सत्ता साझेदार दलका सांसदहरुको दौडधुप बढेको छ । कुन दलले कुनकुन मन्त्रालय लिने बारेमा सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारमा पनि समस्या भएको नेताहरुको भनाइ छ ।
प्रकाशित मिति २०७९ पुस २९ गते शुक्रबार ०९:०७




