ज्योति मगरले गीत गाउने
पोखरा
‘मगर सांस्कृतिक उत्सव–२०७९’ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल मगर सांस्कृतिक संघ, कास्कीको आयोजनामा पुस ३० गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष सरिता सारू मगरले जानकारी दिइन् ।
असहाय तथा विपन्न परिवारको सहयोगार्थ आयोजित कार्यक्रममा वरिष्ठ लोकगायिका एवं अभिनेत्री कविता आलेमगर र पत्रकार रूद्रबहादुर श्रीसमगरलाई सम्मान गरिने अध्यक्ष सारूमगरले जानकारी दिइन् ।
कार्यक्रममा चर्चित कलाकारहरू ज्योति मगर, कुमार पुनमगर, गीता पाइजामगर र नवीन रानामगर लगायतका कलाकारको प्रस्तुति समेत रहने भएको छ । उत्सवमा मगर जातिमा प्रचलित घाँटु, सोरठी, कौरा, सालैजो लगायतका सांस्कृतिक प्रस्तुति समेत राखिएको सचिव वसन्ती थापामगरले जानकारी दिइन् ।
सचिव थापामगरका अनुसार सो कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका मन्त्री पञ्चराम गुरुङले गर्नेछन् । कार्यक्रममा खर्च कटाएर बचत भएको रकम असहाय तथा विपन्न परिवारको सहयोगमा खर्च गरिने जनाइएको छ ।
प्रकाशित मिति २०७९ पुस २९ गते शुक्रबार १०:०८




